मकवानपुर प्रहरीको आँखा लोकल मदिरामा
मकवापनुर, २६ बैशाख । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पछिल्लो समयमा मकवानपुरका गाउँ–गाउँमा तयार हुने लोकल मदिरालाई नियन्त्रणमा लिने र नष्ट गर्ने क्रमलाई तिव्रता दिएको छ । प्रहरीले अवैध मदिरा मकवानपुरका विभिन्न स्थानबाट बरामद गरेको हो ।
यसैक्रममा बैशाख २४ गते प्रहरी चौकी बसपार्कबाट खटेको प्रहरी टोलीले हेटौँडा १० बसपार्कबाट बेवारिसे अवस्थामा करिब १५ लिटर अबैध घरेलु मदिरा बरामद गरी गरेको छ । त्यस्तै सोही दिन ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले करिब ८० लिटर अबैध घरेलु मदिरा बरामद गरेको छ । बैशाख २४ गते नै अस्थाई प्रहरी पोष्ट लामसुरेबाट खटिएको प्रहरी टोलीले होटलहरुबाट करिब ५५ लिटर घरेलु मदिरा बरामद गरेको छ ।

बैशाख २४ गते नै ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले बिभिन्न स्थानबाट करिब १५ लिटर तयारी अबैध घरेलु मदिरा र ३० लिटर अबैध घरेलु मदिरा बनाउने कच्चा पदार्थ बरामद गरेको छ । सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले बैशाख २५ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ र ९ स्थित विभिन्न क्षेत्रबाट करिब २ सय ५० लिटर अबैध कच्चा पदार्थ र १५ लिटर अबैध घरेलु मदिरा बरामद गरेको छ ।
