मकवानपुरका एसपी श्रेष्ठले दिए गैरकानुनी अभिव्यक्ति–‘म ईन्काउन्टर गर्छु’
हेटौँडा, २५ बैशाख । मकवानपुरका एसपी लोकेन्द्र श्रेष्ठले इन्काउन्टर गर्छु भन्दै सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिएपछि त्यसले मकवानपुरमा खैलाबैला मच्चाएको छ । साढे ३३ किलो सुनकाण्डमा मकवानपुरका तत्कालिन एसपी विकासराज खनाल मुछिएसँगै निलम्बनमा परेपछि उनको ठाउँमा काजमा आएका एसपी श्रेष्ठले गैरकानुनी रुपमा इन्काउन्टर गर्छु भन्दै अभिव्यक्ति दिएपछि तहल्का मच्चिएको हो ।
एसपी श्रेष्ठले सोमबार जिल्ला प्रहरी कार्यालय परिसरमा भएको स्वागतसँगै पत्रकार भेटघाटका क्रममा प्रहरीमाथि नै जाईनलाग्नेलाई सिधै इन्काउन्टर गर्ने भन्दै तर्साए । त्यति मात्र होईन उनले मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार गरेको स्वागत कार्यक्रममा समेत सोही भनाई दोहोराए । तर स्मरण रहोस्ः सुरक्षा निकायकै व्यक्तिले त्यस्तो अभिव्यक्ति दिनु गैरकानुनी हो । सुरक्षा निकायका प्रमुखको यस्तो अभिव्यक्ति आफैमा घातक, सुरक्षा व्यवस्था खलबलाउने किसिमको हुने जानकारहरु बताउँछन् ।
यस विषयमा प्रतिक्रिया दिँदै अधिवक्ता स्वागत नेपालले जिल्लाको सुरक्षा निकायको प्रमुख व्यक्तिले ईन्काउन्टर गर्छु भन्नु अपराधीहरुलाई सचेत गराउनु जस्तै हो । ‘इन्काउन्टर हुने हो, हुनसक्छ, तर गर्ने होईन ।’ उनले भने, ‘इन्काउन्टर भनेको अपराधीले काउन्टर अट्याक गर्दा त्यसको प्रतिकार स्वरुप गरिने प्रतिक्रिया हो तर गर्छु भनेर प्लान बनाउने होईन ।’
अधिवक्ता नेपालका अनुसार इन्काउन्टर भनेको घोषणा गर्नु होईन । ‘यदि कसैले अपराधीलाई इन्काउन्टर गर्छु भन्ने घोषणा गर्छ भने त्यो भनेको अपराधीलाई बचाउन खोज्नु जस्तै हो ।’ उनले भने, ‘घोषणा गर्छु भन्नु अपराधीलाई पहिला जानकारी दिएर बचाउनु भन्ने अर्थ लाग्छ , इन्काउन्टर हुनसक्छ, अपराधी मर्न सक्छ तर इन्काउन्टर गर्छु भनेर घोषणा गर्न मिल्दैन ।’
सार्वजनिक प्रतिरक्षक (अधिवक्ता) ऋषि के.बी.ले तु खबरसँग प्रतिक्रिया दिँदै सोही कुरामा जोड दिए । सुरक्षा निकायका व्यक्तिले त्यस्तो अभिव्यक्ति दिनु कानुनसम्बन्त नभएको उनले बताए । ‘सुरक्षा प्रमुखले नै त्यस्तो अभिव्यक्ति दिएपछि जनतामा समेत त्रास पैदा हुनसक्छ ।’ उनले भने, ‘त्यसैले सुरक्षा निकायका ब्यक्तिले यस्तो अभिव्यक्ति दिँदा ध्यान दिनु जरुरी छ । के.बी.का अनुसार एसपीले अधिकार प्रयोग गर्न सक्छन् तर इन्काउन्टर घोषणा गरेर वा प्लानिङ गरेर गरिने कुरा होईन । शान्ति सुरक्षा निकायको प्रमुखको हैसियतमा अपराधीलाई हदैसम्मको कारवाही गर्नसक्छु भन्ने अभिव्यक्ति दिनु जायज भएको तर इन्काउन्टर नै गर्छु भन्न नमिल्ने उनी बताउँछन्
