मकवानपुरका सिडिओलाई लगाईयो गम्भिर आरोप, सिडिओ भन्छन्–‘कानुनी प्रक्रियामा निर्णय गरेको छु ’
हेटौँडा, २१ बैशाख । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढामाथि राजनीतिक हाबी भएको आरोप लागेको छ । उनीमाथि नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका सेक्रेटरी वाटरलाई राजनीतिक दबावका कारण कारागार चलान गरिएको आरोप लागेको हो ।
नेकपा मकवानपुरका सेक्रेटरी वाटरलाई घर निर्माणमा खटिरहेको बेला गत बैशाख १२ गते प्रहरीले पक्राउ गरेको थियो । हेटौंडा १४ कालापानीबाट पक्राउ परेका वाटरविरुद्ध विस्फोटक एवम् हातहतियार तथा खरखजना मुद्दा दायर गरिएको थियो । विस्फोटकको मुद्दामा जिल्ला अदालत मकवानपुरले वाटरलाई १८ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने निर्णय गरेको थियो भने यता हातहतियार एवम् खरखजनाको मुद्दामा भने मकवानपुरका सिडिओ बुढाले उनलाई र्पुपक्षको लागि भीमफेदी कारागार चलान गरेर थप अनुसन्धानलाई अघि बढाउने निर्णय गरे । सिडिओ बुढाले गरेको सो निर्णयप्रति नेकपा मकवानपुरले घोर आपत्ती जनाएको छ ।
सिडिओ बुढाले राजनीतिक दबावमा परी वाटरलाई कारागार चलान गर्ने निर्णय गरेको नेकपा मकवानपुरका इन्चार्ज ज्वालाले बताए । ज्वालाले राजनीतिक पुर्वाग्रहका कारण मकवानपुरका सिडिओ चक्रबहादुर बुढाले सो निर्णय गरेको आरोप लगाए । ‘ सिडिओले राजनीतिक पुर्वाग्रहको कारण सो निर्णय गर्नुभएको हो । यसमा हाम्रो घोर आपत्ती छ । ’ इन्चार्ज ज्वालाले अघि भने, ‘ राजनीतिक दबावमा आएर सिडिओले यस्तो निर्णय गर्न मिल्दैन । सो निर्णय नसच्याइए हामी सशक्त आन्दोलनमा उत्रन्छौँ ।’ सेक्रेटरी वाटरलाई ससम्मान रिहा नगरे आइतबार मकवानपुर बन्द गर्ने चेतावनी समेत उनले दिएका छन् ।
तर, मकवानपुरका सिडिओ बुढाले भने यो निर्णय आफूले कुनै राजनीतिक दबावका कारण नगरेको जिकिर गरेका छन् । आफूले कानुनी प्रक्रियामा रहेर नै निर्णय गरेको उनले दाबी गरे । ‘ हातहतियार एवम् खरखजानाको मुद्दा लागेको अभियुक्तलाई थुनामा राखेर नै अनुसन्धान गर्नुपर्ने कुरा कानुनमा प्रष्ट छ । यो निर्णय मैले कसैको पुर्वाग्रहको कारण गरेको होइन । ’ सिडिओ बुढाले भने, ‘ निर्णयमा आपत्ती जनाउने अधिकार सबैको छ । यसमा मेरो भन्नु केही छैन । ’
