मकवानपुरका ७ यातायात समितिको रुट पर्मिट खारेज हुने
हेटौँडा, २१ बैशाख । यातायात व्यवसायीको सिण्डीकेट तोड्न कडा कदम चालेको नेपाल सरकारले आज सेवा संचालन नगरेका यातायता समितिका रुट पर्मिटलाई खारेज गर्ने निर्णय गरेसँगै मकवानपुरका ७ यातायता समितिको समेत रुट पर्मिट खारेज हुने भएको छ । सरकारको बिरुद्ध यातायात सञ्चालन नगरेको भन्दै ती समितिहरुको रुट खारेज गरिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले सिण्डिकेटको पक्षमा सवारी सञ्चालन नगरेको भन्दै यातायात समितिको रुट खारेजको सिफारिस सहित यातायात व्यवस्था विभागलाई पत्राचार गरेको छ । रुट पर्मिट खारेजको हुने समितिको लिष्टमा नारायणी यातायात व्यवसायी संघ, मध्यमाञ्चल पेट्रोलियम ढुवानी संघ, मध्यमाञ्चल यातायात व्यवसायी संघ, टेम्पो तथा मझौला यातायात व्यवसायी संघ, मकवानपुर पेट्रोलियम डिलर्स, मनहरी लोकल ढुवानी व्यवसायी र मकवानपुर ढुवानी व्यवसायी समितिको नाम रहेको छ ।
