मकवानपुरका ३ यातायात व्यवसायी पक्राउ
हेटौँडा, २१ बैशाख । यात्रुहरुलाई सेवा दिईरहेका भाडाका सवारी संचालनमा अवरोध गर्न खोजेको भन्दै मकवानपुर प्रहरीले शुक्रबार हेटौँडाबाट ३ जना यातायात व्यवसायीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टेम्पो तथा मझौला यातायात व्यवसायी संघ हेटौँडाका अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की, सदस्यहरु कृष्णबहादुर न्यौपानेर कृष्णकुमार श्रेष्ठ रहेका छन् । उनीहरुलाई हेटौँडाको सिमाचोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुले यातायात सेवा दिईरहेका सवारीलाई अवरोध गर्न खोजेपछि नियन्त्रणमा लिइएको बताइएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर कानूनी प्रक्रिया अघि बढाएको छ । यातायात व्यवसायीले सरकारले सिण्डिकेट खारेज गर्ने भन्दै यातायात व्यवसायी संस्थाहरुको नविकरण नगर्ने निर्णय गरेपछि व्यवसायीहरुले शुक्रबार आफ्ना सवारी संचालन नगर्ने निर्णय गरेको थिए । यसको अवज्ञा गर्दै सवारी चलाएको भन्दै उनीहरुले विभिन्न सवारीलाई अवरोध गर्ने प्रयास गरेका थिए ।
