निता ढुङ्गाना र शुसान्त श्रेष्ठसहित दुई पत्रकारलाई सम्मान गरिने
हेटौँडा, २१ बैशाख । चलचित्र पत्रकार संघ मकवानपुरले प्रदान गर्ने चलचित्र पत्रकारिता पुरस्कारबाट यो बर्ष जनता टेलिभिजनमा कार्यरत पत्रकार रामकुमार एलनलाई सम्मान गरिने भएको छ । उनलाई नगद ५ हजार सहित सम्मान गरिने भएको हो ।
त्यस्तै दोश्रो पटक वितरण गर्न लागेको राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७५ बाट राजधानी दैनिकमा कार्यरत डब्बु क्षेत्रीलाई सम्मान गरिने भएको छ । उनलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिने भएको हो । दुई पत्रकारसँगै चलचित्र कलाकारिता सम्मानबाट नायिका निता ढुंगाना र कलाकार शुसान्त श्रेष्ठलाई सम्मान गरिने भएको छ ।
चलचित्र पत्रकार संघ मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका मकवानपुर अध्यक्ष मणिराज गौतमले सम्मान बारे जानकारी दिएका हुन् । उनीहरुलाई आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवसका अबसरमा हेटौँडा रिसोर्टमा हुने कार्यक्रममा सम्मान गरिने बताइएको छ ।
