राप्ती नदि र मनहरी खोलामा नदीजन्य उत्खनन् रोक्न पत्राचार
मकवानपुर, १९ बैशाख । मनहरी गाउँपालिकाले राप्ती र मनहरी खोलामा भइरहेको नदीजन्य उत्खनन् तत्काल रोक्न उत्खननकर्तालाई पत्राचार गरेको छ । बुधवार गाउँपालिकाका कार्यबाहक अध्यक्ष मनिला बिष्टले गाउँपालिकालाई कुनै किसिमको लिखित जानकारी नै नदिई भइरहेको उत्खननबारे चासो ब्यक्त गर्दै उत्खनन् रोक्न पत्राचार गरेकी हुन् ।
उनले पत्रमा राप्ती र मनहरी खोलामा के कति परिमाणमा उत्खनन् हुनुपर्ने र हाल के कति परिमाण उत्खनन् भइसकेको तथा कुन कम्पनी, व्यक्ति वा फर्मले उत्खनन् अनुमति पाएको भन्ने समेत गाउँपालिकालाई जानकारी नभएको उल्लेख गरेकी छिन् । उत्खनन् प्रक्रिया र आगामी दिनमा गिटी, ढुंगा बालुवाको उत्खनन् प्रशोधन र निकासी प्रक्रियालाई व्यवस्थित गर्न तत्कालका लागि उत्खनन् कार्य रोक्न पत्राचार गरिएको कार्यबाहक अध्यक्ष बिष्टले जानकारी दिइन् । ‘अहिले कुन ठाउँमा कति परिमाण कुन कुन उपकरण प्रयोग गरेर उत्खनन् भइरहेको छ भन्ने कुराको कुनै जानकारी गाउँपालिकालाई छैन’, बिष्टले भनिन्–‘अनुमतिप्राप्त उत्खननकर्ताले गरेको उत्खनन् तथा आइइइ गरेको क्षेत्रको अनुगमन र प्राविधिक नापजाँचपछि मात्रै यसबारे निर्णय लिइनेछ ।’
गाउँपालिकालाई समेत गुमराह राखेर भइरहेको उत्खनन्लाई व्यवस्थित गरी आगामी आर्थिक बर्षदेखि व्यवस्थित बनाउनका लागि ऐन बन्ने प्रक्रियमा रहेको उनले जानकारी दिइन् । तर, ऐन बन्ने प्रक्रियामा रहँदा केही क्रसर उद्योगहरुले धमाधम जिल्ला समन्वय समितिको हवाला दिँदै उत्खनन् गरिरहेकोप्रति उनले आक्रोश ब्यक्त गरिन् ।

राप्तीखोलाको खरंगा, रजैया र चौधमाइल खण्डमा केही हप्तादेखि उत्खनन् भइरहेको छ । त्यसैगरी मनहरी खोलाको मनहरी पुलको उत्तर र दक्षिणतर्फका भागमा समेत उत्खनन् भइरहेको छ । हाल क्रसर उद्योगहरुले उत्खनन् गरिरहेको ती क्षेत्रहरुमा वातावरणीय प्रभाव मूल्यांकन गरी उत्खनन्योग्य ठानिएको छ । तर, जनप्रतिनिधिहरुलाई नै जानकारी नदिई तथ्यांक लुकाउने हिसावले उत्खनन् गरिएकोप्रति गाउँपालिकाले आपत्ति प्रकट गरेको हो ।
