गैसस महासंघ प्रदेश ३ अध्यक्षमा मकवानपुरका बुद्ध शरण लामा चयन
हेटौँडा, १९ बैशाख । गैरसरकारी संस्था महासंघ नेपाल प्रदेश नम्बर ३ को प्रथम अधिवेशनबाट मकवानपुरका बुद्ध शरण लामाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
आज हेटौँडामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा धादिङका दामोदर अर्याल, सचिवमा मकवानपुरका आरती पाठक, कोषाध्यक्षमा सिन्धुपाल्चोकबाट सञ्चमाया स्याङबो, सहसचिवमा काठमण्डौँबाट अमरसिंह अधिकारी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा नुवाकोटबाट देवकी पौडेल, काभ्रेबाट शान्तिलक्ष्मी श्रेष्ठ, सिन्धुलीबाट सञ्जयकुमार दाहाल र ललितपुरबाट नरेशकुमार श्रेष्ठ चयन भएका छन् ।
२ जना सदस्य पछि मनोनित गरिने महासंघले जनाएको छ । आजै बिहान अधिवेशनको बन्द सत्र अघि गैससहरुको साझा धारणा पत्र र भावी मार्ग चित्र विषयमा छलफल भएको थियो । छलफलका क्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रिय सचिव रामप्रसाद सुवेदीले नेपालमा नागरिक संस्थाहरु विगत, वर्तमान र आगामी मार्गचित्रको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
