काठमाडौंको रुद्रमती कोरिडोरको यो अवस्था
काठमाडौँ १६ बैसाख । रुद्रमती धोबीखोला कोरिडोर निर्माणमा वर्षौँ लागेपछि स्थानीयवासी हिलो र धुलोमा बस्न बाध्य भएका छन् । कोरिडोरको कालोपुलबाट भत्केको पुल खण्डको दायाँबायाँ सडक कालोपत्र गर्ने काम वर्षौँदेखि अलपत्र हुँदा सास्ती खेप्नुपरेको स्थानीयवासीको गुनासो छ । ढलको एउटा ट्यांक बनाउन छ महिना लागेको सडक किनारमा व्यापार गर्दै आएकी पार्वती तामाङले बताइन् । ६ महिनासम्म ढलको प्रदूषणले आफू बिरामी परेको उनले सुनाइन् ।
सो सडकमा अहिले खाल्डो बनाइएको छ । कालोपत्र गर्नुअघि ढुंगागिट्टीलगायत निर्माण सामग्री राख्न खाल्डो खनिएको हो । “बनाउन भनेर डोजर ल्याएर भत्काउँछ, अनि एक वर्ष हराउँछ, सडक किनारमा व्यापार गर्ने हामीले दुःखपूर्ण जीवन बिताउनुपर्छ”, व्यवसायी रेणुका थापाले भनिन् । निर्माण व्यवसायीले समयमा काम नसक्ने गरेको सडक छेउमा पसल चलाइरहेकाको भनाइ छ ।
सटर भाडामा लिएर बसेकालाई सडक निर्माण नहुँदा समस्या परे पनि घरधनीले समेत चासो दिएका छैनन् । वर्षौँदेखि घरअघिको सडक नबन्दा पनि घरधनी चुइँक्क नबोल्ने गरेको व्यवसायी निर्मल तामाङले गुनासो गरे । सडकमा शौचालय र ढलको फोहर निस्किएर बस्न नसकिने भई समस्या समाधानका लागि घरधनीलाई भन्दा “सटर छाडेर गए हुन्छ” भन्ने जवाफ दिने गरेको व्यवसायीको भनाइ छ ।
सडक अलपत्र रहेका सम्बन्धमा काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयोजना प्रमुख दीपक श्रेष्ठसँग सम्पर्क गर्दा उहाँ सम्पर्कमा आउन चाहेनन्। आयोजनाले सडकमा सूचनामूलक पाटी पनि नराखेको स्थानीयवासीको गुनासो छ ।
रासस
