हेटौँडामा यातायात व्यवसायीद्वारा यातायात व्यवसायीलाई नै चेतावनी
हेटौँडा, १२ बैशाख । सरकारले यातायात क्षेत्रमा भइरहेको सिण्डीकेटका विरुद्ध कडा कदम चालेपछि आन्दोलनको तयारी गरेको नारायणी यातायात व्यवसायी संघले यातायात व्यवसायीलाई नै चेतावनी दिएका छन् ।
संघको यहि २१ गते घोषित आन्दोलनको समयमा कुनै व्यवसायीले यातायातको साधन सञ्चालन गरेमा नारायणी यातायात व्यवसायी संघबाट पाउने सबै सेवा नपाउने र दर्ता समेत खारेज गरिने भन्दै संघका अध्यक्ष हिरालाल श्रेष्ठले चेतावनी दिएका हुन् । सरकारले लगाएको सिण्डीकेटको विषयमा आज हेटौडामा संयुक्त यातायात आन्दोलन परिचालन कमिटि हेटौडाले आयोजना गरेको बृहत व्यावसायी भेलामा अध्यक्ष श्रेष्ठले व्यावसायीलाई यातायात बन्द गर्न आग्रह सहित चेतावनी दिएका हुन् ।
२१ गते विहान ६ बजे देखि साँझ ६ बजे सम्म यातायात साधन घरघर तथा ग्यारेजमा राख्न सबै व्यवसायीलाई आग्रह गर्दै अध्यक्ष श्रेष्ठले सरकारले लगाएकोे सिण्डिकेटमा व्यवसायी मर्कामा परेको र साना व्यवसायीहरुमा निराशाबोध भएको बताए । आन्दोलन परिचालन कमिटिको आदेश अनुसार सबै व्यावसायी एकजुट भई लाग्न आग्रह समेत उनले गरे । व्यवसायीकै भलाईको लागि भन्दै उनले घुमाउरो पारामा त्यस्तो चेतावनी दिएका हुन् ।
