हेटौँडाको स्वयम्भु डाँडामा ३ दिने फुर्वा पूजा सुरु

तु खबर संवाददाता
२०७५ बैशाख ७, शुक्रबार ०९:५१

मकवानपुर, ७ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्वयम्भु डाँडामा अवस्थित टासिहिसे गुम्बाको आयोजनामा गुम्बा परिसरमा ३ दिने फुर्वा पूजा सुरु भएको छ । गौतम बुद्धको २५६२ औँ शुभ जयन्तीका अवसरमा सम्पूर्ण मानवजातिको सुख, शान्ति एवं समृद्धिको लागि (फुर्वा पूजा) बज्र किलाय महानपूजा तथा वाङ अभिषेकको आयोजना गरिएको हो ।

बैशाख ६ गते देखि नै अनौपचारिक रुपमा सुरु भएको पूजामा बैशाख ७ गतेसम्म तोर्मो तोर्सेङ गरिने भएको छ । त्यस्तै बैशाख ८ गतेबाट पूजा आरम्भ गरिने गुम्बाका अध्यक्ष कालु घलानले जानकारी दिए । पूजा अन्तर्गत बैशाख ९ गते सामुहिक ग्रह शान्ति तथा बैशाख १० गते वाङ अभिषेक तथा पूजा समापन गरिने कार्यक्रम रहेको छ ।

फुर्वा पूजा गरेमा दशाग्रह कट्नुका साथै मानव समुदायमा शान्ति स्थापना हुने विश्वास रहेको अध्यक्ष घलानले बताए । पूजामा विभिन्न लामा गुरुहरुका साथै भक्तजनहरुको सहभागीता हुने बताइएको छ ।

वि.सं. २०५६ सालमा स्थापना भएको गुम्बाले बौद्ध धर्म संस्कार अनुसार विभिन्न कार्यहरु गर्दै आएको छ । साथै तामाङ समुदायका विशेष परम्परा र रितिरिवाजको लागि विभिन्न कार्यहरु गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*