देउवाको आरोपः ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा रुपान्तरण

तु खबर संवाददाता
२०७५ बैशाख ३, सोमबार २०:४७
फाइल फोटो

हेटौँडा । नेपाली कांग्रेसका सभापति शेरबवहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा रुपान्तरण हुन पुगेको आरोप लगाएका छन् ।

नेपाल तरुण दलको आयोजनामा आजदेखि शुरु भएको दुईदिने प्रदेश नं ३ स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै देउवाले ओली सरकारले देशमा अधिनायकवाद सुरु गरिसकेको समेत आरोप लगाएका छन् ।

उनले भने, ‘सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ। अधिनायकवाद शुरु भइसक्यो । मनोमानी बढ्यो।’ अर्को प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, ‘अब विकास गर्छन्, अधिनायकवादको ।’

देउवाले प्रतिनिधिसभाको निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कडा कारवाही गरिने बताएका छन् । उनले टिकट नपाएकाहरुले पार्टीका आधिकारिक उम्मेदवारमाथि अन्तर्घात गरेकाले उनीहरुलाई कारबाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्वाचनमा एकीकृत भई चुनाव लडेकाले पार्टीले पराजय बेहोर्नुपरेको बताए ।

सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महत, डा प्रकाशशरण महत, बालकृष्ण खाँण, रामकृष्ण यादव र महेन्द्र यादवले मुलुकमा निजी क्षेत्रका लगानीकर्तालाई उद्योग स्थापना गर्न वर्तमान सरकारले विभेद गर्न नहुने बताएका थिए ।

प्रशिक्षणमा ३ नं प्रदेशका तरुण दलका अध्यक्ष, क्षेत्रीय अध्यक्ष र केन्द्रीय पार्षद गरी ३२५ प्रतिनिधिको सहभागिता भएको तरुण दल अध्यक्ष जीतजंग बस्नेतले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*