प्रदेश २ मा नीति तथा कार्यक्रम पारित
जनकपुरधाम, ०३ बैशाख । प्रदेश नम्बर २ मा सरकारको नीति तथा कार्यक्रम सोमबार बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेश सभाको बैठकले प्रदेश २ को सरकारको नीति तथा कार्यक्रमलाई नेपाली कांग्रेस बाहेक सबै दलले समर्थन गरेपछि बहुमतले पारित भएको हो ।
गत चैत २८ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पेश गरेका थिए । सत्तासीन दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको संयुक्त सरकारले प्रदेशसभा बैठकमा पेश गरेको २० पृष्ठमा समेटिएको ६० बुँदे नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल वाम गठबन्धन घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समेत समर्थन जनाएको छ ।
प्रदेश सांसदहरुले बहुमत जनाएपछि प्रदेश सभामुख सरोजकुमार यादवले प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।
