हेटौँडाको ऋद्धिसिद्धी सिमेन्ट फ्याक्ट्रीमा आगलागी, विभिन्न स्थानको आगलागीबाट करिब १ करोड धनमाल जल्यो

तु खबर संवाददाता
२०७५ बैशाख २, आईतवार २०:२८
file-photo

काठमाडौं, २ बैशाख । मुलुकका विभिन्न स्थानमा भएको आगलागीमा करिब १ करोड बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ भोर्लेस्थित ऋद्धिसिद्धी सिमेन्ट फ्याक्ट्रीमा रहेको एसटि प्यानलमा शनिबार आगलागी हुँदा करीब ४० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

रौतहटको गौर नगरपालिका–१ रामजानकी धर्मशाला नजिक बस्ने सुदादेवी क्षेत्रीको भुजा पकौडीको खुद्रा पसलबाट आइतबार आगलागी हुँदा सुदादेवी लगायत ४ जनाको ४ घर र घरभित्रका सरसामान जलेर करीव ८ लाख २० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । यसैगरी रौतहट गढीमाई नगरपालिका–४ सुन्दरपुर बस्ने कृष्णनन्दन चौधरी कलवारको फुसको छानो भएको घरमा आइतबार आगलागी हुँदा घर र अन्य सामान जलेर करीव ५ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

यसैगरी रौतहट गरूडा नगरपालिका–८ भुसाहा बस्ने बिबेक शम्शेर जबराको घरमा खाना पकाउने क्रममा शनिबार आगलागी हुँदा करीब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका खयरमारा बस्ने टलकबहादुर श्रेष्ठको २२ कठ्ठा बारीमा लगाएको उखु बालीमा आइतबार आगलागी हुँदा उखु जलेर करीव १ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । अर्घाखाँचीको मलारानी गाउँपालिका–८ वस्ने काजीमान बस्नेतको घरमा आइतबार चुल्होबाट आगलागी हुँदा अन्नपात, भाडावर्तन, लत्ताकपडा, काठपात गरी करीव ३० लाख रुपैयाँ वरावरको धनमाल जलेर क्षति भएको छ ।

बाराको महागढीमाई नगरपालिका–५ कबहीजब्दीस्थित बस्तीमा शनिबार आगलागी हुँदा १४ वटा फुसको घर जलेर करीब २५ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । यसैगरी बारा पचरौता नगरपालिका–१ पिपरपातीस्थित ३ वटा घरमा शनिबार आगलागी हुँदा करीब ६ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ खोरीयागाउँ बस्ने काले तामाङको टहरामा ग्याँस लिक भई शनिबार आगलागी हुँदा करीब ३ लाख १२ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका–३ बरैयास्थित अब्दुल कलाम धुनियाको गोठमा बिद्युत सर्ट भई शनिबार आगलागी हुँदा करीब २ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । सप्तरीको बिष्णुपुर गाउँपालिका–७ बस्ने हरिकिसुन रामको घरमा बालेको घुरबाट शनिबार आगलागी हुँदा हरिकिसुन र छिमेकी हरेराम राम समेत दुबैजनाको घर जलेर करीब ६ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

दाङको गढवा गाउँपालिका–६ घोराह बस्ने ३७ बर्षीया जिवा भण्डारीको गोठमा आइतबार अगलागी हुँदा करीब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानिय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*