एकै दिनमा ११ वटा योजनाको शिलान्यास
रौतहट, २७ चैत । क्षेत्र नम्बर ३ का साँसद एवं पूर्वमन्त्री प्रभु साहले एकै दिनमा एघार योजनाको शिलान्यास गरेका छन् । सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत डिभिजन कार्यालय पर्साद्वारा निर्माणको चरणमा पुगेका १ अर्ब १२ करोड ८७ लाख ९ हजार तीस रुपैया ९८ पैसाको एघार योजनाको शिलान्यास साँसद साहले एकै दिनमा गरेका हुन् ।
विकास निर्माण तथा मानवीय सूचकांकमा देशकै सबैभन्दा पछि परेको रौतहटको विभिन्न चार नगरपालिकामा भौतिक पूर्वाधारसम्बन्धी विभिन्न योजनाको साँसद साहले शिलान्यास गरेका हुन् । साँसद साहले मौलापुर नगरपालिकामा मालपोत र नापी कार्यालयको भवन निर्माण, बस पार्क, सहिद स्मृति प्रतिष्ठान, बहुउदेश्यीय सभा हल, बजार पूर्वाधार तथा नाला निर्माण, मौलापुर पार्क निर्माणका साथै मौलापुर–गम्हरिया–पतौरा–शीतलपुर जोड्ने सडक, पथराबुधराम–सगैया सडकको शिलान्यास गरेका छन् । यसै गरी कटहरिया नगरपालिकामा विवाह मण्डप, कटहरिया बहादुरपुर–बिर्ती–जमुनिया सडकको पनि शिलान्यास गरेका छन् ।
साँसद साहले गुजरा नगरपालिकामा बालचनपुर–जंगलसैया सडकका साथै देवाही गोनाही नगरपालिकाको टिकुलिया–कर्कच–कटहरिया सडकको पनि शिलान्यास गरेका हुन् ।
योजनाहरुको शिलान्यास गर्दै साँसद साहले जनताको विकासको चाहनालाई पूरा गर्ने समय आइसकेको बताएका छन् । सहरी विकास मन्त्री रहेको बेला रौतहटमा विभिन्न योजनाहरु पास गरेको बताउँदै अब कार्यान्वयनको चरणमा प्रवेश गरेकोले स्थानीयले पहरेदारी गरी राम्रोसँग काम सम्पन्न गराउन आग्रह गरेका छन् ।
शिलान्यास कार्यक्रममा सडक डिभिजन कार्यालय पर्साका प्रमुख डिई सुरेश वाग्ले, साँसद समिना हुसेन, प्रदेश सभाका साँसद कुन्दन कुशवाहा लगायत ठूलो जनसमूहको उपस्थिति रहेको थियो ।
