बिदा कटौतिको निर्णय फिर्ता लिन जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र
हेटौँडा, २७ चैत । आदिवासी जनजाति महासंघ मकवानपुरले सांस्कृतिक पर्वमा दिँइदै आएको विदा कटौती गर्ने निर्णय फिर्ता लिन जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज ६ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
सरकारले विभिन्न विदा कटौति गरेको विरोधमा केन्द्रिय महासंघले हिजो सार्वजनिक गरेको दबाव कार्यक्रम अन्तर्गत आज मकवानपुरमा महासंघले ज्ञापन पत्र बुझाएको हो । महासंघ मकवानपुरका अध्यक्ष तीर्थ बहादुर थापा मगरको नेतृत्वमा विभिन्न ७ वटा जातिय संघसंस्थाको प्रतिनीधि जिल्ला प्रशासन कार्यालयमा पुगि निमित्त प्रमुख जिल्ला अधिकारी बिनोद खड्कालाई ज्ञापन पत्र बुझाईएको सहभागि नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष लिलाकुमार घलानले बताए ।
आन्दोलनका कार्यक्रम अनुसार महासंघले आजदेखि बैशाख ३ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओली तथा मुख्यमन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउने, देशभर विरोध, प्रर्दशन, धर्ना दिने जनाएको छ । यसैबीच, भोलि महासंघ मकवानपुरले हेटौँडा उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाउने तयारी गरेको महासंघ मकवानपुरका अध्यक्ष मगरले जानकारी दिउएका छन् ।

