सिन्डिकेट कायमै राख्न आन्दोलनको धम्की
काठमाडौँ । सार्वजनिक यातायातमा संगठित रुपमा सिन्डिकेट लाद्दै आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को विरोध गरेको छ। यस सम्बन्धी समाचार आजको नागरिक दैनिकमा छ । नागरिकमा लेखिएको समाचार अनुसार, महासंघको सोमबार बसेको केन्द्रीय परिषद् बैठकले सरकारले एकलौटी निर्णय गरेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिने निर्णय गरेको छ।
बैठकले कार्यविधि तत्काल संशोधन गर्नुपर्ने निर्णय गरेको महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले बताए। ‘सरकारले यातायात व्यवसायीलाई बेवास्ता गरेर ल्याएको कार्यविधि नमान्ने निर्णय गरेका छौं,’ उनले भने, ‘परिषद्को बैठकले सरकारले कार्यविधि संशोधन नगरेसम्म चरणबद्धरुपमा आन्दोलनमा उत्रिने निर्णय गरेको छ।’
यातायात व्यवस्था विभागले यही चैत १८ गते यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गरेर सार्वजनिक यातायात चलाउन कम्पनी दर्ता गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।
