सवारी दुर्घटनामा २ जनाको मृत्यु
काठमाडौं, २५ चैत । कास्की र नुवाकोटमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि २ जनाको ज्यान गएको छ ।
कास्कीको पोखरा लेखनाथ महानगरपालिका–१८ सराङकोट स्थित सडकमा ग.८प ६८ नम्बरको माईक्रोबसको ठक्करबाट घाईते भएका ग.१२ प ४७२८ नम्बरको स्कुटर चालकको ज्यान गएको छ । सोही स्थान बस्ने ३६ बर्षीय रामु पुनको उपचारार्थ फिष्टेल अस्पताल लैजाने क्रममा शनिबार बाटोमै मृत्यु भएको हो । दुबै सवारी साधन र माईक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नुवाकोटको ककनी गाउँपालिका–१ महालक्ष्मी स्थान स्थित सडकमा बिरुवाबाट ओखरपौवातर्फ जाँदै गरेको बा.५ ख २५२३ नम्बरको टिपरले शनिबार सोही स्थान बस्ने ३० बर्षीया सरिता बलामीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
