दुई जना प्राविधिक घुससहित पक्राउ
कास्की, २३ चैत । कास्कीका दुई जना प्राविधिक घुससहित पक्राउ परेका छन् । कास्कीको मादी गाँउपालिका अन्र्तगत पर्ने दुई सामुदायिक आधारभूत विद्यालयबाट घुस लिँदै गरेको अवस्थामा जिल्ला शिक्षा कार्यालय कास्कीका दुई जना प्राविधिकलाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले घुस लिँदै गर्दा पोखराको एक रेष्टुरेण्टबाट प्राविधिक इञ्जिनियर छविन्द्रबिक्रम खाँड र इञ्जिनियर प्रदीपकुमार बानियाँलाई अख्तियारले आफ्नो नियन्त्रणमा लिएको हो ।
मादी गाँउपालिकाको प्रभात आधारभूत र नारायण आधारभुत विद्यालयको भवन निर्माण कार्य सम्पन्न भैसके पछि प्राविधिकको अन्तिम विल भरपाई समेत पेश गर्नु पर्ने भएकोले विल भरपाईको लागि प्राविधिकले एक लाख रुपैयाँ घुस मागेको स्रोतले बताएको छ । उनीहरुमाथि आवश्यक छानविन भइरहेको अख्तियार अनुसन्धान आयोगले जनाएको छ ।
