विदेश पठाउँछु भन्दै भारत लैजान लागेका युवतीको उद्वार

तु खबर संवाददाता
२०७४ चैत्र २३, शुक्रबार १८:३५

ठोरी, पर्सा, २३ चैत । वैदेशिक रोजगारीको लागि तेस्रो मुलुक पठाईदिने भन्दै भारत लैजान लागेका एक युवतीको ईलाका प्रहरी कार्यालय ठोरीले हिजो साँझ उद्वार गरेको छ । ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोली र माइती नेपाल ठोरीका प्रतिनिधिहरूले शंका लागेर सोधपुछ गर्ने क्रममा भारत लैजान लागेको थाहा भएपछि ती युवतीलाई उद्दार गरि ईलाका प्रहरी कार्यालय ठोरीमा राखिएको ठोरीबाट संचारकर्मी माधव तिमिल्सनाले जानकारी दिएका छन् ।

नारायणगढ ठोरी चल्ने यात्रुबाहक बसबाट ओर्लेर भारत जान लागेकी चितवन जिल्ला भरतपुर महानगरपालिका घर भएकी अन्दाजी बर्ष २५ कि युवतीलाई नेपाल भारत सिमा क्षेत्रमा पर्ने ठोरीबाट उद्दार गरिएको हो । प्रहरीले युवतीसंगै दुई जना बिचौलियालाई पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर महानगरपालिका ११ कि ३६ बर्षिय कुमारी बिक र चितवन जिल्ला माडी नगरपालिका ५ का ४२ वर्षीय धनबहादुर बिक छन् । उनिहरुले कुवेतमा राम्रो जागिर लगाईदिने भन्दै प्रलोभनमा पारेर भारत लैजान लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिए । उनका अनुसार बिचौलियाको साथबाट पिडित युवतीको पासपोर्ट र अन्य व्यक्तिहरुको नागरिकता समेत फेला परेको छ ।

प्रहरीका अनुसार पिडित युवतीलाई उनको गाउँले दाइ महेन्द्र परियारले काठमाडौमा रहेका शिव चौधरीको सम्पर्कमा पुर्याएएको थियो । उनै चौधरीले पीडित युवतीको पासपोर्ट बनाइदिएको र उनको आतेजाते खर्च समेत बेहोरी पक्राउ परेका बिचौलियाको साथमा भारत पठाउन लागेको प्रहरी निरीक्षक गुरुले जानकारी दिए । प्रहरीले शिव चौधरीले आएमई मार्फत पक्राउ परेका धन बहादुर बिकको नाममा पठाएको रु १० हजार रकमको आएमईको रसिद समेत बरामद गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*