सवारी दुर्घटनामा मृत्यू भएका जनमको सम्झनामा नेवारपानीमा शोकसभा
मकवानपुर, २३ चैत । नेकपा माओवादी केन्द्र हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ को आयोजनामा आज नेवारपानीमा शोकसभा गरिएको छ । पार्टीका वडा सदस्य जनम सिं गोलेको मृत्यू भएको १३ औँ दिनको पूण्यतिथि पारेर शोकसभा गरिएको हो ।
गोले सवार मोटरसाईकललाई चैत्र १० गते हेटौँडा तिनताप्केमा बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यू भएको थियो । वि.सं. २०४९ साल पुष ९ गते जन्मेका गोलेको २५ वर्षकै उमेरमा दुर्घटनामा परि मृत्यू भएको हो । बुवा रामबादुर गोले र आमा बबिता गोलेका एकमात्र छोरा स्वर्गीय जनमको श्रीमती (रमिला गोले) र एक छोरा (शिशिर गोले) रहेका छन् ।
स्वर्गीय जनम बालिग अवस्थादेखि नै माओवादी केन्द्रमा क्रियाशिल थिए । शोकसभामा पार्टीका जिल्ला संयोजक एवं प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला नेताहरु ल्लित घलान, कमान सिं पाख्रिन पृथक, रामहरी सुबेदी, जिल्ला सल्लाहकार बुद्धरत्न लामा, वडा सचिव ठिसाङ लामा, भुवन खनाल लगायतले उनको योगदानको चर्चा गर्दै शोक व्यक्त गरेका थिए । कार्यक्रम १९ नम्बर वडा कमिटिका पार्टी अध्यक्ष पूर्णबहादुर वाईबा च्याङ्बाको अध्यक्षतामा भएको हो ।
