सवारी दुर्घटनामा ३ जनाको मृत्यू, ३ घाईते
काठमाडौँ, २३ चैत । मुलुकका भिन्न–भिन्न स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको ज्यान जानुका साथै ३ जना घाईते भएका छन् ।
रुपन्देहीको देवदह नगरपालिका–१ रेरा स्थित भित्री सडक खण्डमा लु.१३ प १६५१ नम्बर र लु.३३ प ४००९ नम्बरको मोटरसाइकल बिहीबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार एक जनाको ज्यान गएको छ । दुवै मोटरसाइकलमा सवार ३ जना घाइते भएकोले उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएकोमा उपचारको क्रममा लु.३३ प ४००९ नम्बरका चालक रोहणी गाउँपालिका–१ बस्ने ५० बर्षीय दुर बिजय यादवको मृत्यु भएको हो ।
मोरङको बेलबारी नगरपालिका–३ स्थित पुर्व–पश्चिम राजमार्गमा को.२८ प ७४३६ नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भई दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । मोटरसाइकल चालक सुनसरी धरान उपमहानगरपालिका–१७ बस्ने २५ बर्षीय बिजय बि.क र ३० बर्षीय संजिब बि.क.घाइते भएकोले उपचारको लागि धरान घोपा अस्पताल पठाइएकोमा उपचारको क्रममा संजिब बि.क.को मृत्यु भएको हो ।
त्यस्तै मोरङ बुढिगंगा–३ स्थित कोशी राजमार्ग सडक खण्डमा को. १ ख ३०७२ नम्बरको मिनि ट्रकले साईकल यात्री सुनसरी दुहबी भलुवा–६ बस्ने ३५ बर्षीय सत्य नारायण ऋषिदेबलाई शुक्रबार बिहान ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको छ । उक्त मिनि ट्रकले को.१ क २४६३ नम्बरको कोशी बहुमुखी क्याम्पसको बसलाई समेत ठक्कर दिदाँ सामान्य क्षति भएको छ । मिनि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
