हेटौँडामा टेम्पो हटाउँदा विद्यार्थी मारमा, यसरी लुट्छ अटोले
–भुवन घलान
हेटौँडा, २३ चैत । सरकारले २० बर्ष पुरानो सवारी साधन संचालनमा रोक लगाएपछि विद्यार्थीहरु समस्यामा परेका छन् । बिगत २० बर्षदेखि विभिन्न रुटमा संचालित टेम्पो हटाए सँगै टाढाबाट विद्यालय तथा कलेजमा धाउने विद्यार्थीहरुलाई थप समस्या परेको छ । उनीहरुलाई टेम्पो नभएको मौकामा अटो तथा ईरिक्साहरुले दैनिक भाडाको नाममा लुट्ने गरेका छन् ।
टेम्पो बिहान ४ बजे देखि नै संचालनमा आउनाले विद्यार्थीलाई समयमा नै विद्यालय तथा कलेजमा प्रवेश गर्न सहज थियो तर हाल त्यस्तो अवस्था नरहेको विद्यार्थीहरु बताउँछन् । टेम्पोको संख्या कम भएकोले कहिलेकाही भनेको समयमा टेम्पो नपाउँदा विद्यार्थी फर्किनु पर्ने बाध्यताको चपेटामा समेत पर्ने गरेका छन् ।
एचआइडीको हनुमान गेटदेखि सिमा चोकसम्मको रुटमा सरकारले टेम्पो नहटाउंँदा सम्मको अवस्थामा संचालित टेम्पोले सर्वसाधारण ब्यक्तिसँग १५ रुपैयाँ र बिद्यालयको पोसाकमा भएको विद्यार्थीसँग १० रुपैयाँ भाडा लिदै आएकोमा हाल सबैलाई समान १५ रुपैयाँ नै लिने गरेको छ । बिहान टेम्पोको सुबिधाबाट बञ्चित भए पश्चात भनेको समयमा टेम्पो नपाए पछि विद्यार्थी बाध्यताबस अटो मयुरीमा विद्यालयमा आउनु पर्ने बाध्यता थपिएको छ । तर अटो र मयुरीले न विद्यार्थीलाई सहुलियत दिन्छ न दररेट अनुसार मिलाएर भाडा लिन्छ । त्यस्ता अटो मयुरीहरुले मनलाग्दी भाडा लिने गरेको अखिल नेपाल क्रान्तिकारी विद्यार्थी सिद्धार्थ कमिटिका अध्यक्ष प्रबल ठकुरीले गुनासो गरे । भर्खरै संचालनमा आएको म्याजिकले त्यही रुटमा पनि टेम्पोले भन्दा झण्डै दोब्बर भाडा लिने गरेको र बिहान ढिला संचालनमा आउने गरेको ठकुरी बताउँछन् ।
हेटौंडाको विभिन्न रुटमा गुड्ने जम्मा टेम्पो १ सय ३८ वटाको संख्यामा थियो । जस मध्ये १ सय नौ वटा टेम्पो २० बर्ष कटेको कारण सरकारले संचालनमा प्रतिबन्ध लगाएको छ भने २९ वटा अझै आ–आफ्नो रुटमा चालु अवस्थामा संचालनमा छ । म्याद पुगेका केही टेम्पो हटाए सँगै केही दिन अगाडी मात्रै टेम्पो तथा मझौला यातायात व्यावसायी संघ,मकवानपुरले यात्रुबर्गप्रति पर्न गएको असुबिधामा क्षमा माग्दै अझै केही दिन धैर्य गर्न आग्रह गरिएको ब्यहोरामा स्थानीय पत्रिकामा प्रेस विज्ञप्ति छापेको थियो ।
हटाइएको टेम्पोको संख्या बराबर म्याजिक त्यही रुटको लागि ल्याउने संघले जनाएको छ । संघले हाल सम्म ४० वटा म्याजिक ल्याएर केहि रुटमा संचालन गरिसकेको छ । अबको बाँकी रुटका लागि आवस्यक ६९ वटा म्याजिक भने चाँडै संचालनमा ल्याउने संघले प्रतिबद्धता जाहेर गरेको छ ।
हाल संचालनमा रहेको म्याजिकको लागि विशेष कारणबस कुनै पनि रुटको भाडा नतोकिएको संघको भनाई छ । संघले अझै केही दिन प्रतीक्षा गरि संघको समस्यालाई पनि बुझीदिनका लागि आग्रह गरेको छ ।
