आगलागीबाट ३० लाखभन्दा बढी क्षति
काठमाडौँ, २२ चैत । मुलुकका विभिन्न स्थानमा भएको आगलागीमा ३० लाख भन्दा बढीको क्षति भएको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१ बस्ने पर्शुराम खड्काको घरको दोस्रो तल्लामा रहेको घुम्ती कपडा पसलमा बिद्युत सर्ट भई बुधबार आगलागी हुदाँ पसल भित्र रहेको कपडा पूर्ण रुपमा जलेर करीव ७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
उदयपुरको कटारी नगरपालिका–११ हर्देनी बस्ने शोभा कुमारी खत्रीको २ तल्ले घरमा बुधबार खाना बनाउने क्रममा आगलागी हुदाँ नगद १ लाख ५० हजार रुपैयाँ,सुन र चाँदीका गहना, अन्नपात समेत गरी करीव ११ लाख ३५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका–७ जवाभसरी बस्ने ईनाय तुल्ला मियाको भान्सा घर र गोठमा बुधबार आगलागी हुदाँ गोठमा बाधेको ६ वटा बाख्रा, काठपात समेत जलेर करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
महोत्तरीको मटिहानी नगरपालिका–६ बस्ने कामेश्वर मण्डलको टिनले छाएको एक तले पसलमा खाजा पकाउने क्रममा बुधबार सिलिण्डरबाट आगो सल्कन गई आगलागी हुँदा सोही ठाउँ बस्ने रामचन्द्र चौधरीको एक तले खरले छाएको दुई वटा घर समेत जलेर करीव ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
यसैगरी महोत्तरी पिपरा गाउँपालिका–६ रतौली बस्ने शिवजी मोचीको १ तले घर र छिमेकी रामसफि देवी मोचीकोे एकतले घरमा बुधबार आगलागी हुदाँ नगद सहित करीव १ लाख ८४ हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
मोरङको बेलबारी नगरपालिका–८ राईजार बस्ने टेकन लाल खवासको घरमा बुधबार ग्याँस सिलिन्डर लिक भई आगलागी हुदाँ करीव २ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।
