पदमपोखरी बहुमुखी क्याम्पसमा महायज्ञ जारी, भक्तजनको भिड

तु खबर संवाददाता
२०७४ चैत्र २२, बिहीबार १३:२५

मकवानपुर, २२ चैत । हेटौँडा–१३ स्थित पदमपोखरी बहुमुखी क्याम्पसको शैक्षिक तथा समग्र भौतिक स्तर सुधारका निम्ति हिजोबाट शुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आज दोश्रो दिन पनि जारी छ ।

विद्यालयको हाताभित्र जारी महायज्ञमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थिति रहेको महायज्ञ मुल समारोह समितिले जनाएको छ । महायज्ञस्थलमा बिहानी र साँझका समयमा भक्तजनको भिड लाग्ने गरेको छ । यसअघि हिजो ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले महायज्ञको उद्घाटन गरेका थिए । हिजोबाट सुरु भएको सप्ताह ज्ञान महायज्ञ २९ गते बिहीबारसम्म जारी रहने छ ।

आज चैत २२ गतेबाट प्रत्येक दिन बिहान ७ बजेदेखि १० बजेसम्म पण्डित गुरु तथा बौद्ध गुरुबाट भागवत पुजा अर्चना तथा पाठपरायण सुरु भएको क्याम्पस प्रमुख कृष्णमाया लटौलाले जानकारी दिईन् । आज बिहान प्रमुख भागवत वाचक पण्डित सुशिल पौडेल सहित भागवत उपवाचक पण्डित रमेश चालिसेको टोलीले भागवत कथा वाचन गरेका छन् । आज नै दिउँसो २ बजेबाट प्रमुख बौद्ध धर्म गुरु खेन रेन्पुन्छे तथा आचार्य सर्वजीत तामाङ, बौद्ध गुरु ज्ञान बज्र लामा लगायतले भागवत तथा बौद्ध ज्ञान वाचन गर्ने सप्ताह ज्ञान महायज्ञ मुल समारोह समितिले जनाएको छ । महायज्ञ अन्तर्गत आजदेखि प्रत्येक दिन बिहान ११ बजेदेखि ५ बजेसम्म भागवत कथा प्रवचन, संगीतमय भजन किर्तन र भगवानको झाँकी लिला प्रस्तुत गरिने समेत आयोजकले जनाएको छ । साथै प्रत्येक दिन साँझ साढे ६ बजेदेखि साढे ९ बजेसम्म महात्मीय कथा, भजन किर्तन झाँकी लिला प्रस्तुत गरिने छ ।

कार्यक्रम अन्तर्गत नै चैत २८ गते बौद्ध धर्म गुरुहरुबाट विशेष प्रवचन दिईनेछ भने चैत २९ गते प्रवचनका साथै तिलार्चन र दिउँसो समापन कार्यक्रम हुने बताइएको छ ।

वि.सं. २०७१ सालमा सम्बन्धनप्राप्त क्याम्पसमा स्थानीय विद्यार्थीलाई प्रोत्सहान दिँदै वडा नम्बर १२ र १३ का स्थानीय विद्यार्थीहरुका लागि वडा कार्यालयको समन्वयमा निःशुल्क शिक्षाको व्यवस्था समेत मिलाईदै आएको छ । हाल व्यवस्थापन संकाय मात्र पढाई हुने क्याम्पसमा विद्यार्थीलाई अझ पढ्ने वातावरण मिलाउनकालागि र विद्यार्थीको अभाव हुन नदिनका लागि क्याम्पस प्रमुख लटौला सहित क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शंकर रोक्कासहितको टोली वडाका बुद्धिजीवीहरुसँगको छलफलमा प्राप्त सुझावका आधारमा विभिन्न योजनासहित अगाडि बढेका छन् । क्याम्पसमा हाल ५ जना शिक्षकहरुले कुनै सेवा सुविधा बिना नै अध्यापन गराईरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*