हतारमा जसरी पनि पार्टी एकता गर्ने पक्षमा छैनौँ : प्रधानमन्त्री
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्र बीच समाजवादउन्मुख अर्थतन्त्रको विकासको लक्ष्यसहित तुरुन्तै पार्टी एकता हुने बताएका छन् ।
एमाले केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्न आज सो पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले आफ्नो भारत भ्रमणअघि वा पछि पार्टी एकता हुने भन्ने विषयलाई विवाद बनाउन नपर्नेमा जोड दिए ।
अध्यक्ष ओलीले भने, ‘हामी हतारमा जसरी पनि पार्टी एकता गर्ने पक्षमा छैनौँ तर ढिलासुस्ती गर्ने पक्षमा पनि छैनौँ, यो प्रक्रियाबाटै हुन्छ ।’ दुई दलबीच एकताका लागि कार्यदलले काम गरिरहेका छन् । प्रधानमन्त्रीको भारत भ्रमण यही चैत २३ देखि २५ गतेसम्म हुँदैछ ।
प्रधानमन्त्री ओलीले अबको नेपालमा कोही गरिब र कोही धनी नहुने उल्लेख गर्दै स्वदेशी पूँजी परिचालन र विदेशी लगानी आकर्षित गरी स्वदेशमा युवालाई रोजगारी दिने प्रतिबद्धता पनि व्यक्त गरे । उनले भने, ‘अधिकतम उत्पादन, न्यायोचित वितरण र आर्थिक बचत तथा लाभतर्फको यात्रा शुरु हुनेछ । अबको तीन वर्षमा नेपाललाई विकासोन्मुख मुलुकमा स्तरोन्नति गर्नुपर्ने चुनौतीलाई पनि आत्मसात् गरेर अघि बढिनेछ ।’
कार्यक्रममा यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गरिएको छ । पुरस्कारको राशि ५० हजार ५५५ रहेको छ । यस वर्षको सो पुरस्कारको राशिको सौजन्य एमाले निकट प्रवासी नेपाली मञ्च, कतारले गरेको हो । पुरस्कारका लागि विभागले रु १० लाखको अक्षयकोष खडा गरेको छ ।
जननेता मदन भण्डारीको व्यक्तित्व, राजनीतिक गतिविधि र ‘जनताको बहुदलीय जनवाद’ बारेमा विभिन्न लेखमार्फत उजागर गरेका कोइराला पूर्व सांसद र पूर्व राजदूत हुन् । कोइरालाले प्राप्त गरेको पुरस्कारको राशि द्वन्द्वकालमा मारिएका पत्रकार वीरेन्द्र साहको परिवारलाई हस्तान्तरण गर्ने घोषणा गरे । उनले पत्रकारिता पेशा विश्वमै महत्वपूर्ण र शक्तिशाली पेशा भएको उल्लेख गरे । – रासस
