सवारी दुर्घटनामा मकवानपुरका एक सहित ४ को मृत्यू, १४ घाइते

तु खबर संवाददाता
२०७४ चैत्र १९, सोमबार १४:२०
File Photo

काठमाडौं, १९ चैत । मुलुकका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यू हुनुका साथै १४ जना घाईते भएका छन् ।

मकवानपुरको बकैया गाउँपालिका–७ भिरकोट स्थित ना.६ त ६२६२ नम्बरको ट्याक्टर आइतबार आफै अनियन्त्रित भई सडकमा पल्टिदा ट्याक्टरमा सवार सोही गाँउपालिका–३ बस्ने २० बर्षीय सूर्यबहादुर बलको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाईते भएका सोही गाँउपालिका–७ भिरकोट बस्ने २० बर्षीय रमेश राईलाई उपचारार्थ चुरेहिल अस्पताल लगिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रामेछापको गोकुलगंगा गाउँपालिका–२ दोर्जे स्थित काठमाडांैबाट रामेछापको बाम्तीतर्फ जाँदै गरेको बा.३ ख २६९५ नम्बरको बस आइतबार उकालो चढ्ने क्रममा अचानक ब्रेकफेल भई सडकबाट अन्दाजी १५ मिटर तल खसी दुर्घटना हुँदा बसमा सवार उमाकुण्ड गाउँपालिका–२ बस्ने १८ बर्षीय सुवास गजुरेलको घटनास्थलै मृत्यु भएको छ । दुर्घटनामा सोही गाउँपालिका बस्ने १८ बर्षीय मुकेश सुनुवार लगायत १३ जना समेत घाईते भएकोले उपचारको लागि जिल्ला अस्पताल मन्थली लगिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासीको बर्दघाट सुस्ता पश्चिमको सरावल गाउँपालिका–७ बरगदवा स्थित भित्री सडकखण्डमा लु.३४ प ४०८१ नम्बरको मोटरसाइकलले आइतबार पैदल यात्री सोही ठाउँ बस्ने ७२ बर्षीय मोती केवटलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको बरहथवा नगरपालिका–७ बस्ने सत्यनारायण दासको घरको कम्पाउण्ड नजिकै अपरिचित ब्यक्तिले साँचो सहितको अन टेष्ट ट्याक्टर पार्किङ गरी राखेकोमा निजको ३ बर्षीया छोरी अनुष्का दास ट्याक्टरमा चढि खेल्ने क्रममा अचानक ट्याक्टर स्टार्ट भई आफ्नै पक्की घरमा ठोकिदा गम्भिर घाईते भएकीले उपचारार्थ संजिवनी अस्पताल वरहथवा लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*