आर्मी र सुदुरपश्चिम ११ का खेलाडीबिच मैदानभित्रै कुटाकुट, मेयरमाथि नै जाईलागे खेलाडी
-राजु लो तामाङ
सर्लाही, १८ चैत । सर्लाहीको बागमतीमा जारी दोस्रो राजर्षि जनक गोल्ड कप अन्तर्गत शनिबार भएको फाइनल खेलमा खेलाडीबिच मैदान भित्रै कुटाकुट भएपछि त्रिभुवन आर्मी र सुदुरपश्चिम ११ बिचको फाईनल खेल स्थगित भएको छ ।
फाईनल खेलको पहिलो हाफ सुरु भएको ३ मिनेटमा सुदुरपश्चिम ११ का खेलाडी जर्सी नम्बर १३ का माधव भण्डारीले गोल गरेपछि सुदुरपश्चिमले सुरुवात देखि नै १–० ले अग्रता लिएको थियो । खेलको ३५ औं मिनेटमा आर्मीको तर्फबाट जर्सी नम्बर २२ का सुमन आर्यालले गोल गर्दै खेललाई बराबरीमा पुर्याएता पनि त्यसको लगत्तै खेलको पहिलो हाफको ४० औं मिनेटमा सुदुरपश्चिमका लागि जर्सी नम्बर १० का विनोद के.सी.ले अर्को एक गोल थपि १–२ को अग्रता कायमै राखेका थिए ।
सुरुवात देखि नै सुदुरपश्चिम ११ को दबाबमा परेका आर्मीले रफ गेम खेलेका थिए । दोस्रो हाफको २४ औं मिनेट जाँदा सुदुरपश्चिम ११ का अफ्रिकन खेलाडी जर्सी नम्बर ११ का एरोनाले दोस्रो पहेँलो कार्ड खादै रेफ्रीले रातो कार्ड देखाएको थियो । रातो कार्ड दिइसकेपछि पनि आर्मीका खेलाडीहरुले एरोनालाई मुक्का र लात्ती बर्साए पछि खेल तनावग्रस्त बनेको हो । आधा घण्टा पछि रेफ्री, आयोजक टिम सुरक्षाकर्मी र स्वयंसेवक लगायतले खेललाई सामान्य बनाएका थिए । केही समयको विवाद पश्चात पुनः खेल सुचारु गर्ने निर्णयमा पुगे पछि खेल सुचारु गर्ने क्रममा फिफा रेफ्री सुदिश कुमार पान्डेले आर्मीका तीन खेलाडी जर्सी नम्बर १ का बिकेश कुथु, जर्सी नम्बर २७ का बिकाश तामाङ र जर्सी नम्बर ३२ का दिपक गुरुङलाई खेल मैदान भित्रै बिना गल्ती सुदुरपश्चिमका खेलाडी एरोनालाई कुटपिट गरेकोमा रातो कार्ड दिइएको थियो ।
रातो कार्ड दिइएको भन्दै आर्मीका क्याप्टेन भरत खवास रेफ्री माथि जाइलागेका थिए । सोही क्रममा विवादलाई सामान्य बनाउन सहजीकरणको लागि आयोजक टिमका सदस्य तथा बागमती नगरपालिकाका मेयर भरत थापा मैदानमा प्रवेश गर्दा क्याप्टेन खवासले मेयरमाथि अपशब्द प्रयोग गरी गालीगलौज दिए पछि झन तनावग्रस्त भएको हो । सुदुरपश्चिम ११ आर्मीको यो ज्यादतीले गर्दा खेल नखेल्ने अवस्थामा पुगे पनि आयोजक र रेफ्रीको निर्णय अनुसार खेल्न राजी भएका थिए । तर यता आर्मीका खेलाडीहरु भने आयोजकको कुनै कुरा नै नसुनी खेल मैदानबाट बाहिरीएका थिए ।
यता दर्शकहरु भने आर्मीका खेलाडीहरुले आफै गल्ती गर्दै मैदान छोडेर गएकोमा सुदुरपश्चिमको जित भैसकेको घोषाना गर्न नाराबाजी लगाइ रहेका थिए । अन्तत आयोजकले खेल पछि हुने जानकारी दिइसके पछि दर्शकहरु मैदानमै छिरेर पश्चिमका खेलाडीलै उचाल्दै हिप हिप हुर्रेको नारा लगाएका थिए । आयोजकले हिजो बाँकी रहेको खेल आज खेलाउने भएको जानकारी दिइएको छ । आर्मीको १ गोल सुदुरपश्चिम ११ को २ गोल कायमै रहेर २४ मिनेट देखि बाँकि रहेको खेल खेलाउने भएको हो । सुदुरपश्चिमको खेलाडी एक जनाले रातो कार्ड खाए सँगै १० खेलाडीमा र आर्मीका तीन खेलाडीले रातो कार्ड खाए सँगै ८ खेलाडीमा सिमित रहेर खेल्नु पर्ने क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए ।
आयोजकले तोकेको समयमा आर्मीका खेलाडीहरु खेल खेल्न नआएको खण्डमा कुनै पनि पुरस्कार सेवा सुविधा नपाइने र प्रतियोगिताको नियमावली अनुसार अबको यस प्रतियोगितामा कुनै पनि खेल खेल्न सहभागी नगराउने र प्रतियोगिताको नियमावली अनुसार खेल बहिष्कार गर्ने टिमलाई जरिवाना सहित ३० हजार रुपैयाँ आयोजकलाई तिर्नुपर्ने आयोजकले जनाएको छ ।
