मकवानपुरमा सवारीको ठक्करबाट २ जनाको ज्यान गयो
मकवानपुर, १८ चैत । मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा सवारीले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । शनिबार हेटौँडा उपमहानगरपालिका–११ सरस्वती चोकमा ना.३ ख १८९ नम्बरको ट्रकले ना.४५ प ७६७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
ट्रकको ठक्करबाट हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल बस्ने मोटरसाइकल चालक २२ बर्षीय राजेश सिकारी गम्भीर घाइते भएकोले चुरेहिल अस्पतालबाट थप उपचारको लागी मेडिकल कलेज भरतपुर पठाइएकोको थियो । तर अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै मकवानपुरकै मनहरी गाउँपालिका–५ डिल्लीपुर स्थित खोलाको बगरमा ना.३ त ४०५० नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा उक्त बगरमा खेली रहेका सोही ठाउँ बस्ने किताब सिंह थिङको ९ बर्षीय छोरा किस्मत थिङको मृत्यू भएको छ । किस्मतलाई पछाडीको चक्काले ठक्कर दिए पछि उनी गयम्भरु घाइते भएका थिए । घाईते भएका उनलाई अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
