युवाकै सक्रियतामा सडक निर्माण हुँदै
मकवानपुर, १८ चैत । पछिल्ला समय स्थानीय तह बनेसँगै मकवानपुरका विभिन्न स्थानहरुमा जनप्रतिनिधि र स्थानीय युवाहरुको सक्रियतामा भौतिक विकासका पूर्वाधारहरु अन्तर्गत सडक निर्माणले तिब्रता पाएको छ । मकवानपुरका विभिन्न गाउँपालिका र नगरका विभिन्न वडाहरुमा समेत युवाहरुले विकासमा चासो देखाएका छन् ।
युवाकै सक्रियतामा यतिखेर हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ जाँतेमा धमाधम सडक निर्माण भइरहेको छ । वि.सं. २०५५ सालतिर खोलिएको सडकको नयाँ ट्रयाक सुधार गर्न नसकिएको अवस्थामा जाँते चक्रपथदेखि जाँते सिरानसम्म गाउँकै स्थानीय युवाको पहल र जनप्रतिनिधिसँगको सहकार्यमा बाटो बढाउने र मिलाउने तथा सम्याउन सुरु गरिएको हो ।
रोजगारीका सिलसिलमा कोरियामा रहेका मकवानपुरे युवाहरुको समूह मकवानपुर कोरिया मञ्चका अध्यक्ष तथा सोही गाउँका स्थानीय युवा सुरेश भ्लोनसहितको पहलमा बाटो निर्माणले तिब्रता पाएको हो । कुनै सरकारी बजेट बिनानै स्थानीयको सुविधालाई मध्यनजर गर्दै वडा नम्बर १५ का वडा अध्यक्ष महारत्न लामाको विशेष पहलमा सडक निर्माण सुरु भएको हो ।
भ्लोन आफै बाटो निर्माण समितिका संयोजक बनेर सडक निर्माणमा जुटेका छन् । युवाको यो कार्यमा वडा अध्यक्ष लामासहित ऋद्धिसिद्ध सरोकार समितिले समेत अनुदानमा जेसिबी दिएर सहयोग गरेको छ । समितिका अध्यक्ष गणेश भोलनको स्विकृतिमा जेसिबी अनुदानमा दिइएको हो । जेसिबी अनुदानमा प्राप्त भएपछि स्थानीयले समेत बाटो निर्माणमा सहयोग गर्दै आफ्नो नाममा रहेको जग्गाबाट समेत बाटो परे जुनसुकै सहयोग गर्ने तत्परता देखाएका छन् । उनीहरुले बाटो फराकिलो पार्दा जग्गा परे पनि दिएर सहयोग गर्ने बताएको संयोजक भ्लोनले बताए ।
वडा नम्बर १५ का अध्यक्ष लामाले आफ्नो वडा र वडावासीको सेवा सुविधाको लागि आफुले सकेसम्मको बजेट छुटाउने वचन दिएका छन् । बजेट अपुग भएमा कतैबाट अनुदान लिएर भए पनि सहयोग गर्ने उनले बताएका छन् । ऋिद्धिसिद्ध सिमेन्ट उद्योगको सामाजिक सेवाका क्षेत्रभित्र पर्ने कुनै पनि स्थानमा विकासका लागि ऋिद्धिसिद्ध सदैव तयार रहेको सरोकार समितिका अध्यक्ष गणेश भोलनले बताए ।
