उपेन्द्र यादवको आरोप : २ नम्बर प्रदेशलाई केन्द्र सरकारले सुनियोजित ढंगले असफल पार्न खोज्दैछ

तु खबर संवाददाता
२०७४ चैत्र १७, शनिबार २०:५०
file-photo

राजविराज – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले केन्द्रीय सरकारले प्रदेश सरकारलाई बजेट विनियोजन गर्न आलटाल गरिरहेको आरोप लगाएका छन्।

मुस्लिम समाज सप्तरीले आज राजविराजमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष यादवले २ नं। प्रदेशलाई केन्द्रीय सरकारले सुनियोजित ढंगले योजना बनाएर असफल पार्न खोजेको आरोप लगाउँदै फोरम र राजपाको संयुक्त सरकार रहेको २ नं. प्रदेश मुलुकको सात प्रदेशमध्ये सबैभन्दा गरिब र विपन्न रहेको उल्लेख गरे ।

सबैको समान अधिकार र सम्मानका लागि आफू सदैव सक्रिय रहने बताउँदै अध्यक्ष यादवले प्रदेशको अवस्था बिगार्नेमा सरकार नै दोषी रहेकाले अब प्रदेशलाई समृद्ध बनाउन सम्पूर्ण जातजाति तथा धर्मका मानिस एकजुट, संगठित भई आत्मियता र सद्भाव प्रगाढ बनाउन सकेमात्र प्रदेश बलियो बन्ने धारणा राखे ।

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा मुस्लिम समुदायको अवस्था दलितभन्दा पनि दयनीय रहेको बताए ।

उनले राज्यमा गरिबी, अशिक्षा लगायतका धेरै समस्या रहेकाले अहिले प्रदेशलाई समृद्ध, सुदृढ र विकास गर्न निकै ठूलो चुनौती रहेको जिकिर गर्नुभयो ।

आफू मुस्लिम समुदायबाट आएको बताउँदै मुख्यमन्त्री राउतले विकासका कार्यमा कुनै पनि जातजाति वा फरक धर्म मान्ने व्यक्ति वा समाजबाट अवरोध आउन नहुने मान्यता राखेकाले सबैले काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा मुस्लिम समुदायका अगुवाले अध्यक्ष यादव, मुख्यमन्त्री राउत तथा प्रदेश नं २ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहलाई नेपाली भाषामा अनुवाद गरिएको कुरान प्रदान गरेर दोसल्ला, टोपी लगाई सम्मान गरेका थिए । – रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*