उच्च रक्तचाप भए के–के जाँच गर्ने ?
रोग लिएर अस्पताल पुगेका बिरामीको वास्तविक रोग त्यतिवेला मात्र पहिचान हुन्छ, जतिवेला राम्रोसँग स्वास्थ्य परीक्षण गरिन्छ । तर, कुन रोगको सम्भावनामा के परीक्षण गर्ने भन्नेबारे पनि सचेत हुन आवश्यक छ । यदि यस्तो कुराको ज्ञान भएन भने अनावश्यक जाँच गर्नुपर्छ, जुन खर्चालु हुन सक्छ । त्यसैले उच्च रक्तचापका बिरामीले गर्नुपर्ने परीक्षणबारे डा. कमल शर्मा लम्सालले सुझाएका छन् :
अनिवार्य परीक्षण
० मुटुको इसिजी
० मिर्गौलाको अवस्थाबारे परीक्षण
० कोलेस्ट्रोल तथा लिपिड प्रोफाइल
० रगतमा ग्लुकोज, सोडियम तथा पोटासियमको मात्रा
० पिसाबको परीक्षण
आवश्यकताअनुसार परीक्षण
० हेमोग्लोबिन
० युरिक एसिड
० थाइरोइड
० इकोकार्डियोग्राफी
० डोप्लर स्टडी
० सिटी स्क्यानिङ
० रगत र पिसाबमा हर्मोनको लेबल
० एबिपी
किन गरिन्छ ?
० यसरी गरिने परीक्षणबाट मुख्यतया दुई कुराको जानकारी हुन्छ । एउटा कार्टिनिन बढी भएर मिर्गौलाको कारणले रक्तचाप बढेको हो वा थाइराइड हर्मोन बढी भएकाले यस्तो समस्या हुन पुगेको हो । दोस्रोचाहिँ बढेको रक्तचापले मुटु, मस्तिष्क, मिर्गौलालगायतका अंगमा असर पारेको छ वा छैन ।
० मुटुको इसिजी तथा इकोकार्डियोग्राफी गर्दा उच्च रक्तचापले मुटुलाई कुन तहको असर पारेको छ भन्नेबारे जानकारी हुन्छ । यसले उपचार प्रक्रियालाई पनि सहज बनाउँछ ।
० रक्तचापले गर्दा मुटुको बायाँ भेन्ट्रिकल सुन्निएको वा कडा भएको छ भने निश्चित समूहको औषधि सेवन गर्दा फलदायी हुन्छ । यस्तो जानकारी पनि जाँचपछि मात्र थाहा लाग्छ ।
० रक्तचाप बढी भएका बिरामीलाई हृदयाघात, पक्षघात तथा अन्य जटिल समस्या पनि हुन सक्छ । त्यसैले विशेष परीक्षण आवश्यक हुन्छ ।
के हो रक्तचाप ?
मुटु मानव शरीरको अति संवेदनशील अंग हो । मुटु नियमित रूपमा खुम्चने र फुक्ने गर्छ, जसलाई सामान्य भाषामा मुटुको धड्कन भन्छौँ । शरीरका सम्पूर्ण अंगमा रक्तसञ्चार गर्नका लागि मुटुले निरन्तर पम्पको काम गरिरहेको हुन्छ ।
मुटु खुम्चँदा शरीरका विभिन्न अंगमा शुद्ध रगतको सञ्चार हुन्छ भने फुक्दा शरीरका विभिन्न अंगबाट आएको अशुद्ध रगत मुटुमा जम्मा हुन्छ । यसरी जम्मा भएको रगत अर्कोपटक खुम्चँदा रक्तनलीहरूमार्फत अगाडि बढ्छ ।
मुटुमा हुने सिस्टोल र डायस्टोलको निरन्तर प्रक्रियाले समस्त शरीरमा रक्तप्रवाह गर्छ । रक्तनलीमार्फत रक्तसञ्चारमा उत्पन्न हुने विशेष दबाबलाई नै रक्तचाप भनिन्छ ।
मुटु खुम्चिएको वेला मुटुबाट वेगसाथ निस्केको रगतले रक्तनलीमा दिएको चापलाई सिस्टोलिक रक्तचाप भनिन्छ । त्यस्तै, मुटु एकपटक धड्किसकेपछि फुकेको अवस्थाको चापलाई डायस्टोलिक रक्तचाप भनिन्छ । स्वस्थ व्यक्तिको रक्तचाप औसतमा १२० बाई ८० मिमि हुन्छ
नयाँ पत्रिकाबाट
