‘श्रमजिवी पत्रकारहरुको समस्या जस्ताको तस्तै छन्’– अध्यक्ष हुमागाई
मकवानपुर, १६ चैत । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईँले श्रमजीवि पत्रकारहरुको समस्या जस्ताको तस्तै रहेको बताएका छन् । पत्रकार महासंघको स्थापनाको ६३ औं वर्षका अबसरमा पत्रकार महासंघ मकवानपुर शाखाले आज हेटौँडामा आयोजना गरेको प्रभातफेरी कार्यक्रमको कोणसभामा बोल्दै अध्यक्ष हुमागाईँले श्रमजीवि पत्रकारहरुको समस्यामा कमि नआएको बताएका हुन् ।
स्थापना दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दै हुमागाईले पत्रकार महासंघ मकवानपुर शाखाका लागि पुर्ब अध्यक्षहरु न्युछेमान श्रेष्ठ, नवराज शर्मा, कौशल पाण्डे, प्रताप विष्ट, राममणि दाहाल, भानुभक्त आचार्य र महेन्द्र श्रेष्ठ र पूर्व कार्य समितिहरुले गरेको योगदानको सधैँ कदर र सम्मान गर्ने बताए । पूर्व अध्यक्षहरुको मार्गदर्शन र योगदानबाट नै आफुहरु अहिलेको अवस्थामा आईपुगेको भन्दै उनले जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्तरूपमा लागिरहने प्रतिवद्धता व्यक्त गरे ।
प्छिल्ला दिनहरुमा प्रेस स्वतन्त्रता हननका घटनामा संख्यात्मकरूपमा केही कमी आए पनि प्रबृत्तिगत अवस्था उस्तै रहेको र दण्डहीनता र सेल्फसेन्सरसीपको अवस्था पनि कायमै भएको उनले बताए । श्रमजीवी पत्रकारहरूका समस्या उस्तै रहेको भन्दै उनले यस अवस्थामा नेपाली मिडिया उद्योगको संस्थागत विकास र श्रम अधिकारको स्थापनाका लागि यस क्षेत्रमा आवद्ध सवैको साझा सरोकार हुनुपर्ने तर्फ ध्यानाकर्षण गराए । साथै पत्रकार महासंघ मकवानपुर शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा सबैले सहयोग गर्नुपर्ने बताए ।
पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष भानुभक्त आचार्य र राममािण दाहालले समेत कोणसभालाई सम्बोधन गरेका थिए । हेटौँडाको सिमाचोकबाट सुरु भएको प्रभातफेरी बुद्धचोक , उद्योग वाणिज्य संघको चोक हँुदै सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो ।
प्रभातफेरीमा पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारीसहित कार्य समिति सदस्यहरुका साथै मकवानपुरमा क्रियाशिल पत्रकार तथा मकवानपुर बहुमुखी क्याम्पसमा आम सञ्चार तथा पत्रकारीता विषयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
