प्रदेश नम्बर ३ का विषयगत समिति सभापतिद्वारा सपथ ग्रहण
हेटौँडा, १५ चैत । प्रदेश नम्बर ३ को प्रदेशसभाका विषयगत समितिका सभापतिहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेशसभाका ५ समितिका निर्विरोध सभापतिहरुले आज प्रदेश सभा सचिवालय हेटौँडामा प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् ।
प्रदेशसभाका प्रदेश मामिला समितिमा एमालेका माधवप्रसाद पौडेल, अर्थ तथा लेखा समितिमा एमालेका शुरेस नेपाल, सार्वजनिक लेखा समितिमा कांग्रेसका न्हुच्छेनारायण श्रेष्ठ, शिक्षा स्वास्थ्य तथा कृषि समितिमा माओवादी केन्द्रका घनश्याम दाहाल र उद्योग वातावरण तथा पर्यटन समितिमा एमालेकी रमा आलेमगर चयन भएसँगै उनीहरुले आज सपथ ग्रहण गरेका हुन् ।
प्रदेशसभाका विषयगत समितिका लागि बुधबार मनोनयन दर्ता र आज बिहीबार चुनाव हुने तालिका रहेको थियो । तर बुधबार मनोनयन दर्ताका क्रममा ५ ओटा समितिमा एक–एक जनाको मात्र मनोनयन दर्ता भएपछि आज उनीहरुलाई निर्विरोध घोषणा गरि सपथ ग्रहण गराइएको हो ।
