मकवानपुरमा अवैध लागुऔषध सहित ५ जना पक्राउ

तु खबर संवाददाता
२०७४ चैत्र १५, बिहीबार १८:३४

मकवानपुर, १३ चैत । अवैध लागुऔषध सहित मकवानपुरबाट ५ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई मकवानपुरका विभिन्न स्थानबाट विभिन्न समयमा पक्राउ गरेको हो । प्रहरीले राक्सिराङ गाउँपालिका वडा नम्बर २ बस्ने ४२ वर्षीय पंचलाल मोक्तान, बारा जितपुर सिमरा उपमहानगरपालिका २ बस्ने वर्ष ३४ को गोपाल लामा, सोही वडामा बस्ने वर्ष ३६ को रमेश थापा, भारतको तिलंगना जिल्लाको हाईद्राबाद बस्ने बर्ष २४ को ईसाक शेख र भारतकै कलिकट जिल्ला ग्राम पंचायत कोडुभल्ली बस्ने बर्ष २६ को सहिर पि.सी.लाई पक्राउ गरेको हो ।

प्रहरीले बिहीबार राति करिब २ बजेर २० मिनेटको समयमा राक्सिराङका पञ्चलाललाई पक्राउ गरेको हो । मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित कालिका सामुदायिक बनमा लागू औषध तस्करहरुले अबैध लागू औषध गाँजा बोकी ल्याउँदै छन् भन्ने प्रहरी सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी बाट प्रहरी निरीक्षक चित्रबहादुर घलेको कमाण्डमा खटिएको टोली उक्त स्थान पुग्दा तस्करहरुले गाँजाको भारी छोडेर गएको प्रहरीले दाबी गरेको छ । भारी फालेर तस्कर भाग्ने क्रममा लखेट्दै जाँदा पंचलाललाई पक्राउ गरेको प्रहरीले दाबी गरेको छ ।

उक्त स्थानमा ४ वटा बोरामा ८९ के.जी. अबैध लागू औषध गाँजा फेला परेको र गाँजा सहित उनलाई पक्राउ गरी लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै बिहीबार राति नै करिब साढे १ बजेको समयमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी गस्ती टोली सवारी साधनमा गस्ती गर्ने क्रममा हेटौँडा १९ स्थित दारीमटार नजिक पुग्दा तस्करहरु देखिएको तर उनीहरु फरार भएको प्रहरीले दाबी गरेको छ ।

घटनास्थलबाट फरार भएका भनिएका तस्करहरुको २ वटा मोबाईल सेट बरामद गरिएको र सो स्थानमा ६ वटा बोरामा १५७ के.जी. अबैध गाँजा फेला परेकोले प्रहरीले जनाएको छ । गाँजा ल्याउने तस्करहरु फरार भएको तर खोजीकार्य भइरहेको प्रहरीले दाबी गरेको छ ।

त्यस्तै बुधबार राति साढे ९ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा १५ स्थित सडकमा शकास्पद रुपमा हिडि रहेको अवस्थामा गोपाल र रमेशलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई नियन्त्रणमा लिई शरिर खानतलासी गर्दा नियन्त्रित लागू औषध डाईजेपाम १६ एम्पुल, फेनारगन १६ एम्पुल र ब्युप्रिनोफिन १६ एम्पुल गरी जम्मा ४८ एम्पुल फेला परेको प्रहरीले दाबी गरेको छ । उनीहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार राति नै ईलाका प्रहरी कार्यालय, भिमफेदीबाट खटिएको प्रहरी टोलीले भिमफेदी गाउँपालिका वडा नम्बर ६ स्थित सडक खण्डमा सवारी साधन रोकी जाँच गर्ने क्रममा काठमाण्डौबाट बिरगंज तर्फ जादै गरेको ना. १ ज. ४६९८ नम्बरको टाटा सुमोमा सवार भई आएका भारतका ईसाक र सहिरलाई पक्राउ गरेको हो । उनीहरुको शरीर खानतलासी गर्दा अवैध लागू औषध गाँजा २५ ग्राम फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको दाबी छ । उनीहरुलाई पक्राउ गरी लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*