मोटरसाईकलको लेगार्डमा अफिम लुकाएको आरोपमा मकवानपुरका युवक पक्राउ
मकवानपुर, १४ चैत । मोटरसाईकलको लेगार्डमा अफिम लुकाएको आरोपमा मकवानपुरको मनहरी गाउँपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका वडा नम्बर ७ शिविर भन्ने स्थानमा बस्ने २९ वर्षीय गणेश लामा तामालङलाई पक्राउ गरेको हो ।
बुधबार बिहान करिब साढे २ बजेको समयमा उनले आफ्नै घरको आँगनमा राखेको मोटरसाईकलमा अफिम लुकाइराखेको सूचना प्रहरीले प्राप्त गरेको थियो । सूचना पश्चात ईलाका प्रहरी कार्यालय मनहरी र ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनको घरमा छापा मारेको प्रहरीले बताएको छ ।
छापा मार्ने क्रममा ना.४९ प.६६७ नम्बरको पल्सर मोटरसाईकलको लेगार्डको भागमा जुटको झोला भित्र लागू औषध अफिम लुकाई छिपाई राखेको अफिम १ केजी २० ग्राम सहित उनलाई पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ । उनीमाथि लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
