फेसबुकलाई नियन्त्रण गर्ने भन्दै मकवानपुरे सांसद संसदमै कड्किए
काठमाडौँ, १३ चैत । केही दिन यता संसदमा मकवानपुरे नेताहरुले कडा रुपमा प्रस्तुत भएका छन् । यस अघि नै प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले हिजो भर्खरै संसदमा विदेशमन्त्रीको भ्रमणको कुरा उठाएर कडा भाषण दिएका थिए । त्यसको निरन्तरता स्वरुप आज फेरि अर्का मकवानपुरे नेता एवं राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले फेसबुक नियमनको लागि कानुन बन्नुपर्ने माग राख्दै संसदमा खैलाबैला मच्चाइदिएका छन् ।
उनले कुनै पनि सामाजिक सञ्जालहरुको नियमनका लागि कानुन बन्नुपर्ने माग राखेका छन्। राष्ट्रिय सभाको आजको बैठकलाई सम्बोधन गर्दै सांसद बिडारीले यस्ता सञ्जालहरुको नियमन गर्ने कानुन नबने देशलाई नोक्सान पुग्ने भन्दै चिन्ता समेत व्यक्त गरे ।
वर्तमान समयमा फेसबुक एकाउन्ट नहुने मान्छे नभएको भन्दै सबैले जथाभावी ट्वीटर, ह्वाट्स एप जस्ता सामाजिक सञ्जालको प्रयोग गरेको बताए । त्यसको लागि नियमन गर्ने कानुन भएन भने देशलाई नोक्सान पुग्ने उनको दाबी छ ।
