मन्त्रीको एक्सनपछि कर्मचारीको भागाभाग
काठमाडौं, १३ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कर्मचारीको विषयमा नयाँ एक्सन लिएपछि अहिले काजमा रहेका कर्मचारीहरुको भागाभाग भएको छ । उनले एक निर्णयका बिच आफ्नो मन्त्रालय मातहतका विभाग तथा कार्यालयहरूले त्यही दरबन्दीमा रहेका कर्मचारीलाई मात्र हाजिर गराउन भनेपछि काजमा रहेका कर्मचारीको भागाभाग भएको हो ।
आफुलाई सजिलो हुने र अप्ठ्यारो नपर्ने ठाउँमा लिसो झँै टाँसिएर बस्ने कर्मचारीहरुलाई मन्त्री विष्टले सातो उडाइदिएका छन् । काजमा आफूलाई पायक पर्ने तथा मालदार मानिने ठाउँमा टाँसिएर बसेका कर्मचारीहरू मन्त्री विष्टको पछिल्लो निर्देशनपछि रमाना लिएर आफ्नै दरबन्दी रहेकै कार्यालयमा जान दौडधुप गर्न सुरु गरेको बुझिएको छ ।
मन्त्री विष्टको निर्देशनपछि १२ जना नायव सुब्बा, २ जना कम्प्युटर अधिकृत र २ जना कार्यालय सहयोगी पनि आफ्नो साविककै कार्यालयमा फिर्ता हुन दौडधुप गर्नुपर्ने अवस्थमा छन् ।
