अदालतको सम्मानमा ठेस नपुग्ने गरि एन्फाको चुनाव गराउन निर्देशन
काठमाडौँ, १२ चैत । अदालतको अपहेलना नहुने गरि एन्फाको निर्वाचन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) ले निर्देशन दिएको छ । सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेख्दै स्थगित गरिएको निर्वाचन यथाशिघ्र सम्पन्न गर्न निर्देशन दिएको हो ।
उच्च अदालत पाटनले निर्वाचन रोक्न अन्तरिम आदेश दिएपछि एन्फाको निर्वाचन समितिले आइतबार सूचना निकाल्दै निर्वाचन अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको जनाएको थियो । एन्फाको निर्वाचन चैत १४ गते हुने तय भएको थियो ।
त्यस्तै निर्वाचन स्थगित गरिएकोबारे एन्फाले परिषदलाई जानकारी नगराएको र राष्ट्रिय दैनिक पत्रपत्रिकाबाट परिषदले जानकारी पाएको हुँदा उक्त विषयमा परिषदको ध्यानाकर्षण भएको जनाएको छ । त्यस्तै परिषदले एन्फालाई निर्वाचन स्थगितबारे अबिलम्ब जानकारी गराउन समेत पत्रमा भनेको छ ।
