४२ वडामा सचिव नै छैनन्, रोकियो व्यक्तिगत घटना दर्ता
बैतडी, १२ चैत । बैतडीका ४२ वडा वडामा सचिव नभएपछि त्यहाँ व्यक्तिगत घटना दर्ता गर्ने काम समेत प्रभावित भएको छ । बैतडीको ८४ वडा मध्ये ४२ वडा सचिवविहीन भएको हो ।
जिल्लाको शिवनाथ गाउँपालिकाका ६ ओटै वडामा सचिव नभएको बताइएको छ । वडामा सचिव नहुँदा व्यक्तिगत घटना दर्ताका काम रोकिएको छ । यस्तै पञ्चेश्वर गाउँपालिकाका ६ वडामध्ये ३ वडामा मात्रै सचिव रहेका र भएका सचिव पनि सदरमुकाममै बस्ने गरेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिएका छन् ।
त्यस्तै सिगास गाउँपालिकाका ९ वडा मध्ये ७, पुरचौडी नगरपालिकाका १० मध्ये ७, डिलासैनी गाउँपालिका ७ वडा मध्ये ४, सुर्नया गाउँपालिकाका ३ ,पाटन नगरपालिका ३ वडा, मेलौलीका ५ वडा र दशरथचन्द नगरपालिकाका २ वडा र दोगडाकेदार गाउँपालिकाका पनि २ वडामा सचिव नभएको स्थानीयहरु बताउँछन् ।
