सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यू
काठमाडौँ, १२ चैत । मुलुकका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि ५ जनाको ज्यान गएको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुसाहा स्थित पुर्ब–पश्चिम राजमार्गमा स.९ प १९७७ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिंदा २ जनाको ज्यान गएको छ ।
दुर्घटनामा साईकल यात्री सोही नगरपालिका–८ बस्ने ३० बर्षीय महेश ठाकुर र मोटरसाइकलमा सवार चालक सिरहा सुखीपुर–४ बस्ने ३५ बर्षीय राजिब कुमार चौधरी र सप्तरी बोदेबर्साईन नगरपालिका–८ बस्ने ३० बर्षीय भुनेश्वर चौधरी घाइते भएकोले उपचारको लागी डिभाईन अस्पताल लहान सिराहा पठाइएकोमा उपचारको क्रममा महेश ठाकुर र राजिब कुमार चौधरीको मृत्यु भएको छ ।
बाराको पचरौता नगरपालिका–७ बसपार्क नजिक एसके ०२८५४२ नम्वरको बोलेरो ईन्डियन गाडीले बिआर ०५ जे ८११२ नम्वरको मोटरसाइकललाई शनिबार ठक्कर दिंदा मोटरसाइकलमा सवार चालक पचरौता नगरपालिका–७ बस्ने ५० बर्षीय सुरेन्द्र सहनी र ७० बर्षीय सिताराम सहनीको मृत्यु भएको छ ।
दुर्घटनामा सुरेन्द्रको घटनास्थलमै र सितारामको स्थानीय कंकाली अस्पतालबाट थप उपचारको काठमाडौँतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार अर्का पर्सा एकदरुवा बस्ने ६५ बर्षीय डोमा सहनीलाई थप उपचारको लागि काठमाडाँै पठाएको छ । फरार बलेरो गाडीका चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
त्यसैगरी बारा कलैया उपमहानगरपालिका–९ रामपुरमा ना.६ त ५४७७ नम्बरको ट्याक्टर सडकबाट अंदाजी ५ मिटर तल खसेर दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका–१४ बगवन बस्ने ६३ बर्षीय हिरदा साह सोनारको घटनास्थलमै मृत्यु भएको छ ।
