अब देशभरका विद्यालयमा पहेंलो रङ लगाईने

तु खबर संवाददाता
२०७४ चैत्र १२, सोमबार १६:२७
file photo

काठमाडौँ, १२ चैत । अब देशभरका विद्यालयहरुमा पहेँलो रङ लगाईने भएको छ । नेपाल सरकारले देशभरका विद्यालय भवनमा पहेलो रङ लगाउन निर्देशन दिएपछि यस्तो हुने भएको हो । विद्यालयको मुख्य भवन, शौचालय लगायत सबै प्रकारका भौतिक पूर्वाधारमा पहेंलो रङ लगाउन शिक्षा विभागले निर्देशन दिएको छ ।

सरकारले यसअघि विद्यालयका बसहरु पनि पहेंलो रङको हुनुपर्ने नियम बनाएको छ । शहरी विकास तथा भवन निर्माण विभागले सार्वजनिक भवनहरुमा प्रयोग हुने रङ सम्बन्धी निर्देशिका २०६९ जारी गरेको थियो । तर, यसको पालना नभएपछि शिक्षा विभागले सबै जिल्ला शिक्षा कार्यालयहरुलाई ‘कलर कोड’ प्रयोग गर्न परिपत्र गरेको छ ।

निर्देशिकाको अनुसूची ५ अनुसार विद्यालयको मुख्य भाग प्लास्टर गरेको हुनुपर्ने छ र फिका पहेंलो रङ लगाउनुपर्ने छ । पहेंलो रङ उज्यालो हुने र वुद्धिजिवीलाई मन पर्ने भएकाले यसलाई बाहिरी भागमा प्रयोग गर्न भनिएको शिक्षा विभागका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए । भवनको छानो रातो रङको टेराकोटा टाइल वा स्लेट हुनुपर्ने छ । यसैगरी झ्याल र ढोकाको चौकोस तथा खापा सेतो वा गाढा खैरो हुनुपर्ने छ ।

कक्षा कोठाका भित्ता क्रिम वा आईभोरी रङको हुनुपर्ने निर्देशिकामा उल्लेख छ । कार्यमा एकाग्रता ल्याउने, उज्यालोपन बढाउने र मैलो नहुने भएकाले यस्तो रङ प्रयोग गर्न भनिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*