संसदमै कड्किए मकवानपुरका खतिवडा : ‘भारतीय विदेश मन्त्रीको भ्रमण भ्यालेन्टाइन भ्रमण मात्रै हो ?’
काठमाडौँ, १२ चैत । मकवानपुरे नेता तथा प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले मकवानपुरको दरिलो उपस्थिति संसदमा देखाउन थालेका छन् । यस अघि समेत पहिलो संविधान सभाको चुनावपछि उनले संसदमा विभिन्न विषयमा बहस सिर्जना गरेका थिए । उनलाई संसदको बैठकलाई रोचक बनाउने सदावहार पात्रका रुपमा चिनिने गरिन्थ्यो ।
प्रतिनिधिसभा चुनावमा मकवानपुर २ बाट निर्वाचित भएसँगै दश वर्षपछि पुनः संसद भवन छिरेका खतिवडाले सोमबारबाटै आफ्नो उपस्थिति देखाउन शुरु गरेका हुन् । आजको बैठक शुरु हुनासाथ खतिवडा उठेका थिए तर, सभामुखले उनलाई सुरुमा वास्ता गरेनन् । हातमा प्रतिनिधिसभाको अन्तरिम कार्यविधि लिएर उभिएका खतिवडालाई बेवास्ता गर्दै सभामुख कृष्णवहादुर महराले एमालेका भीम रावललाई विशेष समयमा बोल्न समय दिए ।
विशेष समयमा केही सांसदले बोलेपछि खतिवडा पुनः आफ्नो स्थानबाट उठेपछि महराले संसदका महासचिवसँग खासखुस गरे । त्यसपछि सभामुखले सखतिवडाको नाम दलका बोल्ने लिष्टमा नभएको बताए । जवाफमा खतिवडाले आफ्नो नाम बोल्ने लिष्टमा नभएको भन्दै आफ्नो नियमात्ति मात्र रहेको बताए ।
खतिवडाले दफा २४ अनुसार नियमापत्ति भएको भनेपछि ३ मिनेटको समय पाएका थिए । सो समयमा उनले संसदमा युरोपियन युनियनले खसआर्यलाई समानुपातिकमा आरक्षण नदेऊ भनेको बारेमै छलफल भइरहेको समयमा पाकिस्तानका प्रधानमन्त्रीको नेपाल भ्रमणका सन्दर्भमा नियमापत्ति जनाए । कुनै पनि देशका राष्ट्रप्रमुख वा प्रधानमन्त्री नेपाल आउँदा वा हाम्रो देशका अरु देशमा जाँदा संसदले त्यस भ्रमणको बारेमा जानकारी पाउनुपर्ने बताए ।
पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणमा केके भयो भन्नेबारे सरकारले संसदलाई जानकारी दिनुपर्ने उनले बताए । यस्ता विषयमा संसदले आफ्नो अधिकार गुमाउँदै गयो भने जनता कमजोर हुने बताए । ‘पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणमा के भयो ? कि भारतीय विदेश मन्त्री शुष्मा स्वराजको भ्रमण जस्तै आपसी प्रेमलाई समधुर पार्ने भ्यालेन्टाइन भ्रमण मात्रै हो ? संसदलाई जानकारी दिइयोस् ।’ उनले भने ।
