युरोपेली युनियनका प्रतिनिधिलाई देश निकाला गर्न राष्ट्रिय जनमोर्चाको माग

तु खबर संवाददाता
२०७४ चैत्र १२, सोमबार १५:५३

काठमाडाैं / राष्ट्रिय जनमोर्चाले युरोपियन युनियन (इयु) ले देशको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको भन्दै देश निकाला गर्नुपर्ने माग गरेको छ ।

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा युरोपियन युनियनको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको अनुगमन प्रतिवेदन र राजदुतहरुले कुटनीतिक आचारसंहिता विपरीत गरेको भेटघाटबारे गम्भीर आपत्ति जनाइएको छ।

‘हाम्रो समाज र राष्ट्रमा विग्रह र विखण्डन ल्याउने कार्यप्रति हामी गम्भीर बन्नुपर्छ, आवश्यक परे उनीहरुलाई देशबाट निष्काशन पनि गर्नुपर्दछ,’ जनमोर्चाको विज्ञप्तिमा भनिएको छ, ‘विश्वका कतिपय देशले आफ्नो देशको स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय हितलाई ध्यानमा राखी त्यसो गरेका उदाहरण हाम्रा अगाडि छन्।’

प्रदेशसभा र प्रतिनिधिसभाको चुनावपछि राज्यका विभिन्न तहका निकाय, मुख्यमन्त्री, मन्त्री र उच्च तहका अधिकारीहरुलाई कूटनीतिक नियोगका अधिकारीलाई स्वच्छन्द प्रकारले भेटघाट गर्दै आएकाले त्यसलाई तत्काल नियन्त्रण गर्न समेत जनमोर्चाले माग गरेको छ ।

विश्वका कतिपय देशमा आफ्नो स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय हितलाई ध्यानमा राखेर राजदूतलाई देश निकाला समेत गरेको भन्दै जनमोर्चाले इयुका प्रतिनिधिलाई नेपालवाट निकाला गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*