अधिवक्ता स्वागत नेपालको टिप्पणी : राष्ट्रिय जनावर गाई, सुँगुर वा अरु जे भएपनि मार्नु हुन्न
मकवानपुर । अधिवक्ता स्वागत नेपालले राष्ट्रिय जनावर भनिसकेपछि गाई मात्र होइन, यदी त्यो सुंगुरनै रहेछ भनेपनि त्यसको हत्या उचित नभएको बताएका
छन् ।
हेटौंडा उपमहानगरपालिकाभित्र गाई काटेर खाएको आरोपमा केही व्यक्ति पक्राउ परेको समाचार तु खबरमा सार्वजनिक भएपछि यो राष्ट्रव्यापी चर्चामा छ । त्यसलगत्तै निर्दोश व्यक्तिहरु बिचौलियाको जालमा परेको भन्दै तामाङ घेदुङ संघको अगुवाईमा गृहमन्त्री रामबहादुर थापा बादलकहाँ ३ नम्बर प्रदेश उपसभामुख राधिका तामाङसमेतको टोली छलफलमा गएको थियो । त्यसपछि त झन् यो मुद्धाले अर्कै रुप लिन पुग्यो ।
आज तु खबरले अधिवक्ता नेपाललाई यस विषयमा जिज्ञासा राखेको थियो । नेपालका अनुसार, राष्ट्रिय जनावरको रुपमा संवैधानिक व्यवस्था भइसकेपछि त्यसको सम्मानका लागि सो जनावरको हत्या गर्नु उचित हुन्न ।
विद्यमान कानून अनुसार, गौ हत्या दण्डनीय भएको पनि उनले स्मरण गराएका छन् । संविधानसभामार्फत् निर्माण कानूनमा समयनुकूल परिमार्जन आवश्यक नदेखिएकोले होला, गौ हत्या दण्डनीय अपराध कै रुपमा कायम छ । यो व्यवस्था कानूनी रुपमा रहुन्जेल गाई काटेर खाने काम अपराधै हो, उनले भने । आउँदो भदौ १ गते देखि लागू हुने क्रममा रहेको फौजदारी संहिता कानूनमा पनि गौ हत्यालाई फौजदारी अभियोगकै रुपमा राखिएको उनले बताए । ठूला ठूला आन्दोलन भए त्यसपछि निर्मित कानूनमा गौ हत्यालाई गम्भीर फौजदारी मुद्धाका रुपमा राखिएको छ, तसर्थ कानून बमोजिम हुन्छ, उनले भने ।
