टिप्पणी : अनुगमन गरेर मात्र हेटौंडा अस्पताल के सुध्रिएला मूख्यमन्त्रीज्यू ?
मकवानपुर । हेटौंडा अस्पताल राम्रो भएन भनेर सबैले गुनासा गरेको वर्षौ वितिसकेको छ । अस्पताललाई सुधार गर्ने योजना कागजमात्र सिमित छ । एकपछि अर्को आउने अस्पताल विकास समितिका अध्यक्षहरुले राम्रो काम गर्न नसक्दा हेटौंडा अस्पताल दिनहुँजसो विग्रदो अवस्थामा छ । केही पूर्व अध्यक्षहरुले अस्पताल सुधारमा आसालाग्दा कामहरु पनि गरेका हुन् । तर, पनि हेटौंडा अस्पतालको यो हालत किन छ ?
भौतिक पूर्वाधारले पूर्ण हेटौंडा अस्पतालको व्यवस्थापन फितलो हुँदा विरामीहरुले उचित लाभ पाउन सकेका छैनन । यो अस्पतालको सुधारका लागि प्रमुख जिल्ला अधिकारीहरु, नेपाल सरकारका अर्थसचिवहरु, यहाँका राजनीतिक दलका नेताहरु सबैले आवश्यक निर्देशन दिँदै आएका छन् । तर, अस्पताल सुधार हुनुको सट्टामा झन विग्रदै गइरहेको गुनासा आइरहन्छन् ।
हिजो शुक्रबार ३ नम्बर प्रदेशका मूख्यमन्त्रीले पनि अस्पताल सुधारका लागि अवश्यक निर्देशन दिए । मूख्यमन्त्रीले निर्देशन दिउन्जेल मुन्टो हल्लाउने र त्यसपछि फेरी आफ्नै रबैयामा चल्ने अस्पताल प्रशासन कसको इशारामा चल्छ, हेटौंडावासीले पत्तो पाउन नसकेको विषय हो ।
अब मूख्य मन्त्रीले पनि अस्पताल सुधारका लागि निर्देशनमात्रै दिने हो भने यो अस्पताल बन्दैन । त्यसैले एक्सनमा जान आवश्यक देखिएको छ । वर्षौदेखि अन्त कतै सरुवा नभई हेटौंडा अस्पतालभित्रै जरोकिलो गाढेर बस्ने अस्पतालका कर्मचारीलाई अब तुरुन्तै अन्यत्र सरुवा गरी अन्यत्र भएकालाई यहाँ झिकाउन अवेर भइसकेको छ । मूख्यमन्त्रीज्यू, निर्देशन होइन, एक्सनमा जानुस् । अनुगमन र निर्देशनले हेटौंडा अस्पताल सुध्रने भए धेरै अघि सुध्रिनु पर्ने थियो ।
