प्रधानमन्त्री अाेलीले गरे अर्काे घाेषणा : दुर्इ वर्षभित्रै रेल ल्याउने, पानीजहाज चलाउने
काठमाडाैं / प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुर्इ वर्षपछि आफूले बोलेका कुरामा ठट्टा गर्ने कोही पनि नभेटिने बताएका छन् ।
रेल ल्याउँछु, आफ्नै पानी जहाज ल्याउँछु भन्दा ठट्टा गर्नेहरु अबको २ वर्षमा हराउने बताए ।
काठमाडौंमा आयोजित राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले भने, ‘रेल ल्याउँछु भन्दा मन्छेहरुले दुई वर्षअघि मजाक उडाए । म अहिले पनि भन्दै छु अबको दुई वर्ष ती ठट्टा गर्ने मान्छे भेटिने छैनन् । किनभन्दा नेपालमा रेल कुद्छ। पानी जहाजको कुरा गरेँ । प्रधानमन्त्री कार्यालयअगाडि बाल्टीमा पानी हालेर कागजको डुंगा बनाएर तमासा गरे । हुनसक्छ २०७५ साल भित्र होइन भने २०७६ सालभित्र नेपालको पानी जहाजले नेपालको झन्डा गाडेर कसरी गुड्छ हामी देखाउँछौं । धेरै लामो समय होइन । सञ्चारकर्मी भार्इ बहिनीले रेकर्ड गरी राख्या छन् ।’
प्रधानमन्त्री ओलीले सरकार आफ्नो प्रतिबद्धता पुरा गर्नबाट एक कदम पनि पछि नहट्ने बताए । ‘मैले मन्त्रालयमा पद बहाली गर्दा केही प्रतिवद्धता गरेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले मन्त्रिपरिषद्को पहिलो बैठकबाट पनि केही प्रतिवद्धता गरेका छौँ। ती प्रतिवद्धताहरू सुनाउनका लागि होइन। काम गर्नको लागि गरेका हौं ।’
