कर्मचारी संगठनका अध्यक्षहरु मन्त्री लालबाबु पण्डितका विरुद्ध खनिए, अब मन्त्री ब्याक होलान् त ?
काठमाडौँ । सरकारका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई स्वेच्छिक अवकासमा नपठाइने र खटाएको ठाउँमा जानुपर्ने धारणा सार्वजनिक गरिरहँदा उनीमाथि प्राय सबै कर्मचारी संगठनका नेताहरु खनिन थालेका छन् ।
उनीहरुले सरकारले स्वेच्छिक अवकास कार्यान्वयन नगरे आन्दोलनमा उत्रिने धम्की दिन थालेका छन् । शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले मन्त्री पण्डितको विरोधमा आफ्ना धारणा राखे । कर्मचारी खटाएको स्थानामा गइसकेको दावी गर्दै ढकालले कर्मचारीलाई हेपेर नबोल्न चेतावनी दिए ।
नेपाल निजामति कर्मचारी संगठनका बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले पनि मन्त्रीको गतिविधि स्वीकार्य नहुने चेतावनी दिएका छन् । नेपाल निजामति कर्मचारी युनियन कर्मचारी संघका अध्यक्ष गोपाल पोखरेलले समान्य प्रशासन मन्त्रीले बोलेको भाषाले कर्मचारी निराश भएको बताए । कर्मचारीका अध्यक्षहरुले सरकारका एक इमान्दार मन्त्रीमाथि दबाब सिर्जना गर्न खोजेको विश्लेषण हुन थालेको छ ।
कर्मचारीहरुमा पनि अघिपछिजस्तो अस्थिर सरकार छ भन्ने सोच हट्न सकेको देखिँदैन । अहिले अराजकता फैलाउनेहरु सरकारलाई खुला चुनौती दिन थालेका छन् । इमान्दार कर्मचारी पनि सरकारले स्वेच्छिक अवकासमा कसैलाई मोटो रकम दिएर विदा नगर्ने निर्णयकै पक्षमा धेरै देखिएका छन् । यस्तो बेला मन्त्री पण्डित आफ्नो योजनामा उभिन सक्लान्, गम्भीर प्रश्न उठेको छ ।
