अज्ञात समूहले गराएकाे बम विष्फोट परी ८ जना घाइते
लहान / अज्ञात समूहले को लहान नगरपालिका–६ स्थित विकास ट्रेडर्स (सुनचाँदी पसल) लाई लक्षित गरी प्रेसरकुकर बम विष्फोट गराउँदा ज्वेलर्स सञ्चालकसहित ८ जना घाइते भएका छन् ।
अपराह्न १ बजेतिर अचानक बम विष्फोट हुँदा विकास ट्रेडर्सका सञ्चालक विकास शारडा, उनका भाइ राहुल शारडा, पसलमा काम गर्ने २१ वर्षीया अस्मिताकुमारी चौधरी रहेका छन् ।
पसलमा किनमेलका लागि आएकी सिरहाको नवराजपुर गाउँपालिका–३ निवासी २२ वर्षीया देवकुमारी यादव, उनका सात वर्षीय छोरा सतिश यादव, सप्तरीको सुरुङ्गा नगरपालिका–६ निवासी मनिकादेवी राम, लहान नगरपालिका–२१ निवासी बबिता यादव र उनकी बहिनी विनिता यादव पनि घाइते भएका छन् ।
घाइतेमध्ये पाँचजनाको लहानस्थित सप्तऋषि नर्सिङहोममा र तीनजनाको लहानस्थित रामप्रसाद उमास्मारक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिए।
बम विष्फोट कसले र किन गराएको भन्ने केही खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भेटवालले बताए ।
यसअघि गत फागुनमा पनि लहानका छुट्टाछुट्टै दुई स्थानमा अज्ञात समूहले बम विष्फोट गराएको थियो । – रासस
