दीपा र दीपकको हत्यारा अहिलेसम्म पक्राउ परेनन्, प्रहरी भन्छ : नजिक छौँ : कति नजिक हो ? – एसपी साहेब
बारा । बाराको बजिनीमा दुई दम्पतीको हत्या भएको महिनौ बितिसक्दा पनि हत्यारा पत्ता लगाउन प्रहरी असफल भइरहेको छ । गएको मंसिर १५ गते राति घरमै सुतिरहेको अवस्थामा हत्या गरिएका दीपक सुवेदी र उनकी पत्नी दीपाको हत्यामा प्रहरीले अनुसन्धान तिव्र बनाइरहेको दावी गरिएपनि खासमा प्रहरीको अनुुसन्धान अहिलेसम्म उपलब्धी शून्य देखिएको छ ।
घटना भएपछि अहिलेसम्म पनि प्रहरीले अनुसन्धान तिव्र बनाएको बताइरहेको छ । तर, प्रहरी वास्तविक पिडकसम्म पुग्न सकेको छैन । प्रहरी अनुसन्धानमा कहाँ नेर खराबी छ त्यो भने अझै स्पष्ट हुन सकेको छैन । स्रोतका अनुसार, प्रहरी घटनाका अभियुक्तको नजिक छ । तर, के कारणले दोषी सार्वजनिक गर्न नसकेको हो त्यो भने प्रहरीले खुलाएको छैन ।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टको कामजोरीका कारण पनि वास्तविक पिडकसम्म प्रहरी पुग्न नसकेको आरोप छ । तर, भट्टले कुनै पनि आरोपीसँग प्रहरी नझुक्ने भन्दै घटनाको सतहसम्म प्रहरीले मसिनो तरिकाले अनुसन्धान गरिरहेको बताए । केही क्लु पाएरै व्यक्तिहरु पक्राउ गरी ल्याइरहेका छौँ, छुटाउन दबाब पनि पर्छ तर प्रहरी कसैको दबाब अघि झुक्दैन, उनले भने । उनका अनुसार, घटना अनुसन्धानमा कुनै कमी गरिएको छैन ।
अधिकारवादीहरुले दीपक दीपाको घटनाबारे छिटो दोषीलाई पक्राउ गर्न माग गरिरहेका छन् । प्रहरी आफूहरुले इमान्दारितापूवर्क काम गरिरहेको दावी गर्छ । तर, किन नजिता आउन सकेको छैन, यसबारे भने केही खुलेको छैन ।
बाराका एसपी राजकुमार बैदवार घटनाको अनुसन्धान जारी रहेको बताउँछन् । प्रहरीले नेपालभित्र मात्र होइन, भारतका बिभिन्न ठाउँहरुमा समेत गएर अनुसन्धान गरिरहेको बताएको छ । अनुसन्धान कार्यमा समस्या पर्न सक्ने भन्दै सबै विवरण दिन नमाने पनि प्रहरीले छिट्टै दोषी पक्राउ पर्ने संकेत भने गरेको छ ।
